Nic Ad Nic Ad
Nic Ad Nic Ad

साधना प्रधानजस्तै केपी ओली र माधव नेपालहरूले बेवास्ता गरेका ‘बिरामी’ प्रखर नेता

मंगलबार, माघ २९, २०८१

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठकी पत्नी रहेकी नेत्री साधना प्रधानले जीवनको उत्तरार्धलाई कठिन मोडबाट बिताइन्।

बिमारी हुँदा उनले पार्टी र त्यसका नेताको साथ पाइनन्। नेपालमा कम्युनिस्ट पार्टी बलिया बन्दै जाँदा इतिहास लेख्ने साधना प्रधानले कमजोर अवस्थामा धर्तीलाई छाड्न परेको थियो।

बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत प्रधानको निधन भएको थियो।

उनको निधन भएको एक दशक बितिसकेको छ। मतिष्कघातपछि प्रधानको बयोधा अस्पतालमा उपचार भइरहेको थियो।

कम्युनिस्ट राजनीतिमा ६ दशकदेखि निरन्तर सक्रिय प्रधानले ०४६ सालमा संयुक्त वाममोर्चाको नेतृत्व गर्दै आन्दोलनको अगुवाइ गरेकी थिइन्। ०४६ पछिको अन्तरिम सरकारमा उनी उद्योगमन्त्री थिइन्।

त्यसैगरी ०६३ को परिवर्तनपछि बनेको सरकारमा उनी उपप्रधान तथा परराष्ट्रमन्त्री थिइन्।

तर अन्तिम दिनतिर उनको साथमा कोही पनि भएन। 

यस्तै, अहिले कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका एक नेता बिमारी परेका छन्। प्रखर नेता प्रदीप नेपालको स्वास्थ्य अवस्था कमजोर रहेको छ। तर उनका सहकर्मी र पार्टी नै बारम्बार सरकारमा हुँदा पनि बेवास्ता गरिएको छ।

माधवकुमार नेपाललगायतका नेता उनका सहकर्मी हुन्। एमालेमा रहेका प्रदीप नेपालको पार्टी सरकारको नेतृत्व गरिरहेको छ, अहिले। तर, उनी बेवास्तामा छन्।

प्रचण्डको सरकारमा सहभागी थियो, नेकपा एकीकृत समाजवादी। तर, त्यसबेला पनि नेता नेपालको उपचारका लागि सरकारी पहल गरेन। 

लामो स्वास्थ्य समस्या र त्यसले पार्ने आर्थिक समस्या जोकसैका लागि कठिन कुरा हो। स्वास्थ्य उपचारको चाँजो मिलाइरहेको नेपाल परिवारलाई ओली प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेलगत्तै सरकार सहयोगका लागि तयार रहेको आश्वासन पुग्यो। एमालेकै नेतामार्फत परिवारका सदस्यलाई मागसहित प्रस्ताव ल्याउन भनियो। 

सरकारले उपचारका लागि सहयोग गर्छ भने किन नलिने भनेर परिवारका सदस्यले प्रधानमन्त्री ओलीलाई मागपत्र दिए। तर प्रधानमन्त्री ओलीले कसैलाई पनि सरकारले अहिले स्वास्थ्योपचारका लागि आर्थिक सहयोग नबाँडेको बताए। 

सरकारसँग केही आशा र भरोसासहित प्रधानमन्त्री भेट्न पुगेका परिवारका सदस्यलाई त्यस्तो जवाफले निराश बनायो। 

नेता नेपाल एमालेका नेता, पूर्वमन्त्री, लोकतान्त्रिक आन्दोलनमा जीवन बिताएका योद्धा मात्र नभएर लेखक, रचनाकारसमेत हुन्। उनको जीवनरक्षा गर्ने दायित्व राज्यको पनि हुनुपर्ने परिवारका सदस्यहरूको बुझाइ छ। त्यसपछि प्रधानमन्त्री ओली र उनको सचिवालयमा कार्यरत मात्र होइन, पार्टीका नेताहरू पनि अहिले सम्पर्कमा नरहेको भाइ समीर नेपालले जानकारी दिए। 

पार्किन्सन्सले च्याप्दै गएपछि उनको बोली बन्द भयो। चिकित्सकहरूले शल्यक्रिया गरेर पेसमेकर राख्दा बोली खुलए। उनीहरूको सुझावअनुसार उनको शल्यक्रिया गरेर पेसमेकर राखियो। उनका दुख एकातिर छन् तर सरकारको बेवास्ताले परिवारमा नैराश्यता रहेको छ।
 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्