नेसपा नयाँ शक्तिको कोषाध्यक्षमा हरि रिजाल निर्विरोध निर्वाचित
काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को कोषाध्यक्षमा हरि रिजाल निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौंमा जारी प्रथम अधिवेशनमा कोषाध्यक्षमा रिजाल र गोकर्णराज अधिकारीको उम्मेदवारी परेको थियो । अधिकारीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि रिजाल निर्विरोध निर्वाचित भएका हुन् ।
दाङका रिजाल स्वास्थ्य व्यवसायी पनि हुन् । उनी नयाँ शक्तिको स्थापनाकालदेखि वैकल्पिक राजनीतिमा क्रियाशील छन् ।
यसअघि महिला उपाध्यक्षमा मानुषी यमी भट्टराई र दलित उपाध्यक्षमा दुर्गा सोब पनि निर्विरोध निर्वाचित भइसकेका छन् । मानुषी र सोब दुवैको एकल उम्मेदवारी परेको थियो ।
आदिवासी जनजाति उपाध्यक्षमा भने चार जनाको उम्मेदवारी परेको छ । जसमा रामबहादुर घले, टेकबहादुर बाठामगर, अनुपसिंह सुवाल र दलबहादुर लिम्बु छन् ।
यसैगरी मधेशीरथारु उपाध्यक्षमा उमेश साह र चिनक कुर्मीको उम्मेदवारी परेको छ ।
उपाध्यक्ष ५ जनामध्ये महिला, खसआर्य, आदिवासी जनजाति, मधेशीरथारू, दलित कोटाबाट चुनिने छन् ।
नेसपा नयाँ शक्तिको संशोधित विधान अनुसार केन्द्रीय समिति ९९ सदस्यीय हुनेछ । केन्द्रीय समितिमा ९० जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चुनिने छन् । ९ जना भने मनोनीत हुनेछन् । पदाधिकारीको संख्या ११ हुनेछ ।
अध्यक्ष पदमा भने अध्यक्षमा डा। बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँको उम्मेदवारी दर्ता भएको छ । यसैगरी महासचिवमा घमानसिंह गुरुङ, सोनाम सिंह स्याङ्तान र राजु नेपाको मनोनयन दर्ता भएको छ ।
खुला सचिवमा भरतराज दाहाल, दानबहादुर सहकारी, लक्ष्मण कार्की र छन्दबहादुर पन्थीको उम्मेदवारी परेको छ । महिला सचिवमा श्रीजना सुवेदी, आशाकुमारी तामाङ र सृजना रिजाल नेपालले उम्मेदवारी दिएका छन् ।