भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने जसपा नेपालकाे निर्णय
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने भएको छ ।
आज (मंगलबार) सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको संसदीय दलको प्रमुख सचेतक रेखा यादवले जानकारी दिइन् ।
यादवले भनिन्, ‘सरकारले ल्याएको ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय भएको छ । अन्य पाँच वटा अध्यादेशलाई समर्थन गर्ने सहमति भएको छ ।’ सरकारले संसद् अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । यस्तो निर्णय गर्नु अगाडि जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल नै बनाएर अध्ययन गरेको थियो ।
अध्ययन प्रतिवेदन समेतका आधारमा यस्तो निर्णयमा पुगिएको जसपा नेपाल सांसद प्रकाश अधिकारीले जानकारी दिए। ‘भूमि सम्बन्धी अध्यादेशमा वन क्षेत्रको जग्गा नोक्सान गर्ने, सार्वजनिक जग्गाको नोक्सान गर्ने प्रावधान छ । भूमाफियाको प्रभाव बढ्न नदिन र जनताको पक्षका लागि यस्तो निर्णयमा पुगिएको हो,’ अधिकारीले भने ।