गायिका एलिना चौहान र विष्णु सापकोटा डिभोर्स फाइनल भयो, एलिनाको भावुक पोस्ट
काठमाडौं– गायिका एलिना चौहान र उनका पति विष्णु सापकोटाको सम्बन्ध विच्छेद (डिभोर्स) अदालतले टुंगो लगाएको छ।
एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो।
एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो। उनीहरुको वैवाहिक सम्बन्ध १० महिना पनि टिक्न सकेन। एलिनाका दाइ प्रल्हाद चौहानले सम्बन्धविच्छेदको पुष्टि गरेका छन्।
प्रल्हादले ‘मेरी बहिनीले तिमीबाट भोगेका शारीरिक, मानसिक र भावनात्मक यातनाको हिसाब आजबाट समाप्त भएको छ। आजदेखी मेरी बहिनी र विष्णु सापकोटाको सम्बन्ध कानूनी रुपमा समाप्त भइसकेको छ’, लेखेका छन्।
यसैगरी एलिनाले पनि यसलाई पुष्टि हुनेगरी एउटा भावुक सन्देश फेसबुकमा लेखेकी छन्।
उनी लेख्छिन्–
प्रिय बिष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्।
तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ।
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ।
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।
पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु।
एलिनाले पतिसँग अंश र मानाचामलको दावी गरेकी छैनन्। त्यही भएर डिभोर्स प्रक्रिया छिटो भएको हो। हाल अस्ट्रेलियामा बस्दै आएका बिष्णुले वारेसमार्फत डिभोर्सको मुद्दा लडेका थिए।