Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘महाकुम्भबाट नेपाल पनि लाभान्वित हुनसक्छ’

बुधबार, माघ ३०, २०८१

भारत- यमुना र गंगा नदी मिसिएको दोभानमा स्नान गर्न पाउँदाको खुसी भक्तजनको मुहारमा प्रष्ट देखिन्छ । टाढा टाढाबाट आएका उनीहरूको शरीर थकित भए पनि यहाँ आई पुग्दाको खुसी उनीहरूको मुहारमा झल्किन्थ्यो ।

एक सय ४४ वर्षपछि भएको महाकुम्भमा पुण्य प्राप्त गर्न आएका लाखौँ भक्त नदीको एक किनारमा बनाइएका स्नान स्थलमा भगवानको नाम जप्दै डुबुल्की मारिरहेका भेटिन्छन् । प्रयागराजमा गंगा र यमुनासँगै सरस्वती नदीको संगम भएको विश्वासले धार्मिक रूपमा यो स्थानलाई विशेष मानिन्छ । यद्यपि हाल सरस्वती नदीको भने अस्तित्व देखिन्न ।

भारतको उत्तराखण्ड राज्यको प्रयागराजमा गत महिनादेखि सुरु महाकुम्भमा आउनेहरूको सङ्ख्या दिनप्रतिदिन बढिरहेको महाकुम्भ मेलाका सूचना अधिकारी गगन यादवले बताए । दैनिक एक करोडदेखि तीन करोडसम्म भक्तजन आइरहेका छन् । “महाकुम्भमा आउनेहरूको गणनाका लागि चोक चोकमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित क्यामेरा जडान गरिएको छ । त्यसैका आधारमा आगन्तुकको आकडा अनुमान गरिएको हो । एक दिनमा सबैभन्दा बढी तीन करोडभन्दा बढी भक्तजन महाकुम्भमा आएका छन्”, उनले भने ।

प्रधानमन्त्री नरेन्द्र मोदीले महाकुम्भमा स्नान गरेपछिको दिनमा यहाँ आइपुग्ने भक्तजनको सङ्ख्या उल्लेख्य बढेको छ । “पछिल्लो पाँच दिनमा भक्तजनको सङ्ख्या बढ्दो छ, हामीलाई व्यवस्थापन गर्न कठिन भएको छ”, उनले भने । हालसम्म ४५ करोडभन्दा बढीले महाकुम्भ मेला भरेका छन् । नेपाललगायत विभिन्न देशबाट श्रद्धालु भक्तजन आएका उनले जानकारी दिए । मेला समापनका दिनसम्ममा ५५ करोड भक्त आउने उनको अनुमान छ ।

महाकुम्भ मेलाबाट नेपालले पनि धार्मिक पर्यटन प्रवर्द्धन गरी लाभ लिन सक्ने सूचना अधिकारी यादवले बताए । महाकुम्भमा आउने अधिकांश भक्तजन अयोध्यास्थित भगवान् रामको मन्दिर र वाराणसीस्थित विश्वनाथ बाबाको मन्दिरमा पुगिरहेका छन् । त्यसै गरी, उनीहरूलाई नेपालका प्रसिद्ध तीर्थस्थल पशुपतिनाथ, मुक्तिनाथ र लुम्बिनीलगायत स्थानमा लैजान सकिने यादवले बताए ।

चुस्त व्यवस्थापन
विश्वका विभिन्न देशबाट महाकुम्भमा सहभागी हुन आउनेको सङ्ख्या अनपेक्षित रूपमा बढे पनि मेला व्यवस्थापन भने चुस्त छ । सबै भक्तजनलाई स्नान गर्न मिल्ने गरी नदी किनारमा व्यवस्थापन गरिएको छ । स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि आवासीय सुविधासहितको ‘पडकास्टिङ’ सञ्चालन गर्नेका लागि पनि स्थल बनाइएको छ । साथै आगन्तुकका लागि अस्थायी आवास निर्माण गरिएको छ । सूचना अधिकारी यादवका अनुसार मेला सञ्चालनका लागि हालसम्म भारत सरकारले रु. ७५ अर्ब खर्च गरिसकेको छ । 

के हो महाकुम्भ?
आजभन्दा आठ सय ५० वर्षअघि पहिलो महाकुम्भ मेला आयोजना भएको मानिन्छ । आदिशंक राचार्यले महाकुम्भको सुरुआत गरेका थिए । केही पौराणिक कथाहरूमा कुम्भको आयोजना समुद्र मन्थनपछि हुन थालेको वर्णन पनि पाइन्छ । 

प्रसिद्ध चिनियाँ यात्री हेनसाङले आफ्नो भारत यात्राका क्रममा कुम्भमेला आयोजना भएको उल्लेख गरेका थिए । हेनसाङका अनुसार राजा हर्षबद्र्धनले प्रत्येक पाँच वर्षमा नदीहरूको संगममा ठूला कार्यक्रम आयोजना गर्दथे । ती कार्यक्रममार्फत राज्यको सम्पत्तिबाट केही हिस्सा धार्मिक व्यक्तिहरूलाई दान दिन्थे ।

त्यसबाहेक कुम्भको महिमा शिव पुराण, मत्स्य पुराण, पद्म पुराण र भविष्य पुराणमा उल्लेख भएको पाइन्छ । समुद्र मन्थनका क्रममा जब अमृतको कलश निस्कियो तब देवता र राक्षसबीच अमृतको कशल तानातान भयो । सोही संघर्ष कम गर्नका  लागि भगवान् विष्णुले मोहिनी रूप लिएका थिए। त्यसपछि जब देवता र राक्षसहरूबीच संघर्ष बढ्न थाल्यो तब इन्द्रदेवका पुत्र जयन्तलाई अमृतको कलश जिम्मा लगाइयो । जयन्त कौवाको रूप धारण गरी राक्षसहरूबाट अमृत कलश खोसेर उड्न थाले । उड्ने क्रममा अमृतका केही थोपा प्रयागराज, उज्जैन, हरिद्वार र नासिकमा खसेको विश्वास गरिन्छ । अमृत खसेका स्थानमा कुम्भमेला हुन थालेको हो ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०८:१९
प्रतिक्रिया दिनुहोस्