डीपफेक भिडिओले प्रताडित महिलाको कथा, नेपालमा पनि बन्न थालेका छन्
काठमाडौं– त्यो फेब्रुअरी महिनाको एक गर्मी रात थियो जब सिड्नीस्थित हाना ग्रन्डीको ’इन्बक्स’मा एउटा अशुभ सन्देश देखा पर्यो।
‘यसमा तपाईँको ध्यान पुग्न जरुरी लागेको हुनाले म यो इमेल बारम्बार पठाइरहने छु’, ती अज्ञात प्रेषकले लेखेका थिए।
सो इमेलभित्र एउटा लिङ्क थियो र गाढा अक्षरमा लेखिएको थियोः यसमा विचलित पार्ने सामग्री छन्।
तर यथार्थ त त्योभन्दा पनि निकै खराब थियो। लिङ्कभित्र हानाको अनुहार देखिने कैयौँ पेजका अश्लील सामग्री थिए – बलात्कारदेखि हिंसापूर्ण धम्कीसम्म।
‘ती दृश्यमा उसलाई बाँधिएको छ’, हानाले भनिन्। ‘ऊ तर्सिएकी जस्ती छे। उसको आँखामा आँसु छ। ऊ खोरमा छे।’
अनि केही तस्बिरमा हानाको पूरा नाम लेखिएको छ। उनको इन्स्टाग्राम ह्यान्डल पोस्ट गरिएको छ र उनको ठेगाना समेत राखिएको छ। पछि उनले आफ्नो फोन नम्बर पनि बाँडिएको थाहा पाइन्।
त्यो इमेलले सुरु भएको घटनाक्रमलाई हानाले कुनै सिनेमासँग तुलना गरिन्। उनी आफैँ जासुस बन्नुप¥यो। आफू निकटस्थ कुनै व्यक्तिले घृणा लाग्ने गरी धोका दिएको रहस्योद्घाटन हुन पुग्यो र उनको जीवन अनि अस्ट्रेलियाको कानुनी मापदण्ड नै बदल्ने मुद्दा बन्न पुग्यो।
त्यो वेब पेजको शीर्षक थियो ‘द डिस्ट्रक्शन अफ हाना’ (हानाको सर्वनाश), र पेजको माथिपट्टि मानिसहरूलाई तिनले हानालाई कसरी दुव्र्यवहार गर्न चाहन्छन् भन्ने जबाफ दिन मिल्ने ‘पोल’ (सर्वेक्षण) राखिएको थियो।
तलपट्टि हानाको अनुहार टाँसिएका ६०० वटा अश्लील तस्बिर थिए भने बीचबीचमा उनीविरुद्ध डरलाग्दा धम्की पोस्ट गरिएका थिए।
‘म यो व्यभिचारिणीलाई निसानामा पार्दै छु’, एक जनाले पोस्ट गरेका छन्।
‘म उसको घरमा लुक्न चाहन्छु अनि एक्लै भएको मौका पारेर पछाडिबाट समात्छु ... अनि उस छटपटाएको अनुभव गर्छु।’
तीन वर्ष बितिसकेको छ। तर यी ३५ वर्षीया शिक्षिकालाई आफू र आफ्नी ३३ वर्षे साथी क्रिस भेन्चुरा दुई जनाले उक्त वेबपेज पहिलो पटक खोल्दा अनुभव गरेको स्तब्धता बिर्सन सकेकी छैनन्।
‘अनि त लगत्तै मैले असुरक्षित महसुस गर्न थालिहालेँ’, आफ्नो घरमा पुदिनाको चिया भरिएको मग समातेर उनले मलाई भनिन्।
वेबसाइट हेर्दै जाँदा क्रिसले आफ्ना अर्का साथीका फोटोहरू पनि फेला पारे। त्यहाँ अधिकांश सिड्नीका गरी झन्डै ६० महिलाका त्यस्ता तस्बिर थिए।
उनीहरूले छिट्टै के पत्ता लगाए भने ती सबै डीपफेक (आर्टिफिशल इन्टलिजन्सको दुरुपयोग गरेर वास्तविकताभन्दा बेग्लै तस्बिर, भिडिओ, अडिओ आदि बनाइने काम) गरिएका फोटोहरू ती महिलाका निजी सामाजिक सञ्जालका खाताहरूबाट झिकिएका हुन्। अनि उनीहरू झल्याँस्स भए ः यो काम त पक्कै कोही चिनजानकै मानिसले गरेको हुनुपर्छ!
कसले गरेको होला भनेर हाना र क्रिस निकै समय घोत्लिए। उनीहरूले ती डीपफेकमा देखिएका महिलाहरूको सामाजिक सञ्जाल अनि तिनका साथीहरूको सूची निकाले। बिस्तारै उनीहरूले सम्भावनाहरू केलाए अनि प्रमाण सङ्कलन गर्न थाले।
चार घण्टा नबित्दै उनीहरूको सामु तीन शङ्कास्पद मानिसको सूची बन्यो।
त्यसमा भएका एक जना उनीहरूको विश्वविद्यालयका साथी एन्ड्रू हेलरको नाम उनीहरूले तत्कालै शङ्काको घेराबाट हटाए। उनीहरू तीन जना क्याम्पसको मदिरालयमा काम गर्थे र उनीहरूमाझ गहिरो मित्रता थियो।
त्यो समूहमा एन्डी (उनीहरूले एन्ड्रूलाई बोलाउने नाम) अगुवामात्र थिएनन्, समूहलाई सँगै मिलाएर राख्ने व्यक्त पनि थिए।
एन्ड्रू सहयोगी र मिलनसार भएको हानाले बताइन् – त्यस्तो व्यक्ति जसले महिलाहरूको हेरचाह गर्थे र उनीहरू राति सुरक्षित घर पुगे नपुगेको पनि ख्याल गर्थे।
उनीहरू नियमितजसो सँगै रहन्थे, बिदा मनाउँथे, अनि एकअर्कासँग स्नेह र विश्वास गर्थे।
‘मैले उनलाई एक निकट मित्र मानेकी थिएँ’, हानाले भनिन्।
‘उनी असल मानिस भएकोमा हामी एकदमै ढुक्क थियौँ।’
तर पछि त्यो सूची सूक्ष्म ढङ्गले केलाउँदै जाँदा जम्मा एक जनाको नाम बाँकी रह्योः उनै एन्ड्रूको।
भोलिपल्ट प्रहरी चौकी जाँदा हाना केही आशावादी थिइन्।
‘हामीलाई त्यही दिन उनी पक्राउ पर्छन् भन्ने लागेको थियो’, फिस्स हाँसेर क्रिसले भने।
तर प्रहरीले बेवास्ता गरिएको हानाले बताइन्।
न्यूसाउथ वेल्स प्रहरीका एक अधिकारीले हानालाई तिमीले एन्डीलाई के गरेकी थियौ भनेर सोधेको उनी सम्झन्छिन्। एक चरणमा तिनले हानालाई एन्डीलाई यस्तो काम बन्द गर भन्न सुझाव पनि दिए। उनी छोटा कपडामा देखिएको एउटा फोटो देखाउँदै तिनले कति राम्रो देखिएको समेत भनेको हानाले बताइन्।
हानाको मुद्दाको विस्तृत जानकारीबारे बीबीसीसँग टिप्पणी गर्न न्यूसाउथ वेल्स प्रहरीले अस्वीकार ग¥यो।
यो मामिलामा आफूले ‘तिललाई पहाड’ बनाएको झैँ गती प्रहरीले व्यवहार गरेको हानालाई लागेको थियो।
यो ढिलाइपछि उनी अस्ट्रेलियाको ई–सेफ्टी कमीश्नर अर्थात् विद्युतीय माध्यममा सुरक्षा हेर्ने निकायका प्रमुखसँग सहयोग माग्न गइन्। तर उनको शक्ति केवल ती वेबसाइटका सामग्री हटाउन मात्र सीमित थियो।
हाना र क्रिसले एक वकिल राखे अनि डिजिटल फरेन्सिक अनुसन्धानकर्ता पनि परिचालन गरे।
एन्डीले भेउ नपाऊन् भनेर उनीहरूले बाहिरफेर जान पनि कम गरे।
त्रास र एक्लोपनाले उनीहरूलाई गाँज्यो।
ती व्यक्तिले त्यस्तो काम गर्लान् भन्ने मान्न बाध्य भइसकेपछि अब तिनले बलात्कार नगर्लान् वा आफूहरूलाई कुनै हानि नपु¥याउलान् भनेर सोच्न नसकिएको उनीहरूले बताए।
उनीहरूले आफ्नो घर वरपर क्यामरा जडान गरे तथा विभिन्न ‘ट्र्याकिङ डिभाइस’ प्रयोग गर्न थाले।
‘मैले झ्याल खुलै राख्न छाडिदिएँ ... कतै कोही आइहाल्लान् कि भनेर’, हानाले भनिन्।
‘हामीले सुत्दाखेरि छेउमा चक्कु राख्न थाल्यौँ।’
प्रहरीले सहयोग नगरेको महसुस गरेका कारण हाना वा अन्य साथीहरूविरुद्ध कुनै गतिविधि भएको कहीँ कुनै सङ्केत देखिन्छ कि भनेर क्रिसले साइटहरूको अझ गहिरो गरी अनुगमन गर्न थाले।
‘अरू साथीहरूलाई हामीले भोगिरहेको विषय बताउने कि नबताउने भनेर हामी निकै सोच्थ्यौँ’, हानाले भनिन्।
छानबिन स्थगित भएको बताइएपछि हाना र क्रिसले थप पैसा जुटाएर विस्तृत फरेन्सिक रिपोर्ट तयार पार्न लागे। उनीहरूले प्रहरीको निगरानी गर्ने निकायमा उजुरी दिने चेतावनी पनि दिए। उनीहरूले आफ्नो सुरक्षा र एन्डीको गिरफ्तारीका लागि करिब १२ हजार ५०० अमेरिकी डलरजति खर्च गरे।
अन्ततः उनीहरूको मामिला हेर्न नयाँ अधिकारी खटाइए। त्यसको दुई साता नबित्दै एन्डीको घरमा प्रहरी पुगे। एन्डीले सबै सकारे।
सुरुमा राहत अनि डरले उनीहरूलाई गाँज्यो। उनीहरूले बाँकी साथीहरूलाई खबर गरे।
‘मेरी शरीरमाथि हस्तक्षेप भएको अनुभव गरेँ ...। मैले के भइरहेको छ भनेर बुझ्न सकिनँ’, एन्डीले आफ्नो फोटोको दुरुपयोग गरेको थाहा पाएको क्षणमा उत्पन्न भावनाबारे जेसिका स्टुअर्टले भनिन्।
उनको लागि पनि आफूले ’परिवार’सरह ठानेको मित्र नै जिम्मेवार भएको विषय सबभन्दा स्तब्ध बनाउने खालको थियो। एन्डी एकदमै सहयोगी र परेको बेला सहयोग गर्ने खालको उनलाई लागेको थियो।
‘ती दुवै व्यक्ति एकै हुन् भनेर पत्याउनै गाह्रो भयो।’
अस्ट्रेलियाको निम्ति यो मामिला नितान्त नौलो थियो।
गत एक दशकदेखि प्रविधिले मारेको फड्कोका कारण एआई अपराधहरू बढ्ने जानकारहरूले चेतावनी दिँदै आएका थिए। तर अधिकारीहरू अहिले तयारीविहीन अवस्थामा देखिन्छन् जसले डीपफेकका पीडितहरू असुरक्षित भएका छन्। तीमध्ये अधिकांश महिला छन्।
सन् २०२२ मा एन्डी पक्राउ पर्दा न्यूसाउथ वेल्स वा अस्ट्रेलियाभरि कतै पनि डीपफेक ’पोर्नोग्रफी’ अर्थात् अश्लील सामग्री सिर्जना गर्ने वा फैलाउनेविरुद्ध कुनै कानुन थिएन।
ती ३९ वर्षीय व्यक्तिलाई पुरानै इन्टरनेट दुरुपयोगसम्बन्धी कानुनअन्तर्गत अभियोजन गरिएको थियो। हानालाई धेरै आश नगर्न पनि भनिएको थियो।
‘तर यदि उनलाई सहजै छाडिए हामी अदालतमा जान तयार थियौँ’, उनले भनिन्।
उनी र अन्य २५ महिला एन्डीलाई उत्तरदायी बनाउन दृढ थिए। उनीहरूले एन्डीविरुद्ध बयान दिए।
‘तिमीले मेरो मित्रतालाई धोका मात्र दिएनौ, मेरो सुरक्षा अनुभूति पनि भताभुङ्ग पारिदियौ’, जेसले अदालतमा भनिन्। ‘अब त संसार बिरानो र खतरनाक लाग्छ। म बारम्बार तर्सन्छु र सुत्दा पनि दुःस्वप्न आउँछ।’
‘नयाँ मित्रता गाँस्न पनि अब असम्भव लाग्छ कतै ती नयाँ व्यक्ति तिमीजस्तै हुने त होइनन्?’
जब क्षमा माग्ने एन्डीको पालो आयो, जेस र हाना अदालतको त्यो कक्षमा बसिरहन सकेनन्। उनीहरू बाहिरिए।
‘उसले केही भनेर पनि मलाई सहज हुने थिएन। यो उसले थाहा पाओस् भन्ने म चाहन्थेँ’, हानाले भनिन्।
एन्डीले ती तस्बिर बनाउँदा आफू ’शक्तिशाली’ भएको भान पर्ने गरेको तथा आफ्नो मनको ’अँध्यारो’ पक्षलाई उजागर गर्ने यो ’एक मार्ग’ बनेको अदालतमा बताए।
‘मैले धेरै नराम्रो काम गरेको छु। म एकदमै क्षमा चाहन्छु’, उनले भने।
तर उनको पछुतोबाट न्यायाधीश जेन कल्भर विश्वस्त भइनन्।
उनले एन्डीलाई नौ वर्षको कारावास सजाय सुनाइन्। त्यो फैसलालाई कोसेढुङ्गा मानिएको छ।
‘एकदमै राहत अनुभव भयो। पहिलो पटक यस्तो लाग्यो कि हाम्रो पीडालाई कसैले सुनेको छ’, जेसले भनिन्।
एन्डी सन् २०२९ को डिसेम्बरमा ’परोल’मा रिहाइका लागि योग्य हुने छन्। तर उनले अदालतको फैसलालाई चुनौती दिने बताएका छन्।
प्रविधि र लैङ्गिक मामिलाको अध्ययन गर्दै आएका कानुनविद् निकोल श्याकल्टनले बीबीसीलाई यो “अभूतपूर्व“ मामिला कानुनी मापदण्डको दृष्टिबाट भविष्यका लागि निकै महत्त्वपूर्ण हुने बताइन्।
मेल्बोर्नको आरएमआईटी विश्वविद्यालयकी डा श्याकल्डटले न्यायाधीशले यो ‘अनलाइनमा केही भएको’ मामिला मात्र नमानेको बरु त्यसलाई “महिलाविरुद्ध हिंसा“सँग पनि जोडेको बताइन्।
अस्ट्रेलिया तथा अन्य देशहरू आर्टिफिशल इन्टेलिजन्सको नियमन गर्न तथा त्यसको दुरुपयोग रोक्ने मामिलामा कमजोर छन्।
डीपफेक पोर्न सामग्री सिर्जना गर्ने र फैलाउने कामलाई अस्ट्रेलियाले हालै अपराधको श्रेणीमा राखेको छ। तर अन्य कतिपय देशहरूका विद्यमान कानुनमा छिद्रहरू रहेको वा कतिपयले डीपफेक अश्लीलतालाई अपराध करार नगरेको पाइएको छ। यूकेमा यस्ता सामग्री फैलाउनुलाई अपराध मानिए पनि त्यसको सिर्जना वा माग गर्नुलाई अपराध मानेको छैन – तर यो अवस्था परिवर्तन हुन लागेको भनिएको छ।
साथै अपर्याप्त रूपमा प्रशिक्षित वा स्रोतविहीन प्रहरी फौजका कारण हानाजस्ता पीडितहरू आफैँ जासुस तथा नियामक बन्नुपर्ने बाध्यता छ।
कैयौँ वर्षको नारकीय अनुभवपश्चात् अब हाना आफ्नो जीवनमा अघि बढ्ने कोसिस गर्दै छिन्।
तर एन्डीको सम्भावित पुनरावेदनले उनले आफ्नो मानसिक स्वास्थ्य र जीवन पुनर्निर्माण गर्न गरेका प्रयत्न फेरि शून्यमा झर्ने हो कि भन्ने डर छ।
अनि इन्टरनेटमा राखिएको सामग्री सदाका निम्ति त्यहीँ रहिरहने त्रास उनलाई छ।
आफ्नो भविष्यका साथी, रोजगारदाता, विद्यार्थी अनि आफ्नै सन्तानले ती सामग्री फेला पार्लान् भन्ने त्रास उनलाई छ।
‘तपाईँ हामीले फेसबुक र इन्स्टाग्राममा आफ्ना जीवनका सुन्दर क्षणहरूका तस्बिर राख्छौँ। तपाईँले कुकुर पाल्नुभएको छ, घर किन्नुभएको छ, वा तपाईँको बिहे छिनिएको छ भने तपाईँ त्यस बेला खिचिएका तस्बिर पोस्ट गर्नुहुन्छ।’
‘तर उसले मेरा ती सबै सुन्दर क्षणहरूलाई अश्लीलतामा परिणत गरिदियो। अनि जब म ती तस्बिर हेर्छु ... म आफूलाई बलात्कृत भए जस्तो देख्छु।’
नेपालमा पनि डीपफेक भिडिओ बनाउने उपक्रम सुरु भएको छ। तर यहाँ राजनीतिक दलका नेता, हालका प्रधानमन्त्री केपी शर्मा ओलीदेखि शीर्ष तहका नेताका बनेको सामाजिक सञ्जालमा पाइन्छन्।
यसैकारण पनि सामाजिक सञ्जाल विधेयक ल्याइएको छ। अहिले त्यस्तो काम गर्नेलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाहीको शिलशिला चलाइने गरिएको छ।
नियमन, स्वनियममा नबाँधिने कारणले यस्ता अपराधोन्मुख काम भइरहेका पनि छन्।
(बीबीसी र समायोजित रिपोर्ट)