बंगलादेशी क्रिकेटरलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको प्रतिबन्ध
दुबई- बंगलादेशकी अन्तर्राष्ट्रिय खेलाडी सोहेली अख्तरलाई आइसिसीको भ्रष्टाचार विरोधी संहिताको पाँच वटा उल्लघंन गरेको स्वीकार गरेपछि पाँच वर्षका लागि सबै प्रकारका क्रिकेटबाट प्रतिबन्धित गरिएको खेलको नियामक निकायले जनाएको छ ।
अख्तरले सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको महिला टी-२० विश्वकपमा एक बङ्गलादेशी खेलाडीलाई हिट विकेट आउट हुन १३ हजार पाउन्ड (१६ हजार डलर) को प्रस्ताव गरेकी थिइन् ।
नाम नखुलाइएकी खेलाडीले अख्तरका बारेमा रिपोर्ट गरेकी थिइन् । उनी त्यो प्रतियोगितामा संलग्न थिइनन् ।
बंगलादेश क्रिकेट बोर्डका निर्देशक तथा महिला विभाग प्रमुख नजमुल आबेदिन फहिमले अख्तरको कार्य ‘दुर्भाग्यपूर्ण’ भएको बताए ।
“हामी यस विषयमा शून्य सहनशीलताको नीति अपनाउँछौँ र बंगलादेश क्रिकेटका सबै तहमा फिक्सिङ रोक्न कडा प्रयास गरिरहेका छौँ”, फहिमले भने ।
छत्तीस वर्षीया स्पिनर अख्तरले आफ्नो देशका लागि १३ टी-२० र दुई एकदिवसीय खेल खेलेकी छन् । उनले सन् २०२२ मा बङ्गलादेशका लागि अन्तिम पटक खेलेकी थिइन् ।
आरोपहरू मध्ये अख्तरले आफ्नो आचरणको अनुसन्धानमा ढिलाइ वा बाधा पुर्याएको पनि स्वीकार गरिन् ।