दुई वटा नागरिकता र राहदानी बोकेका ग्याल्टुल जसले झुक्याइरहेका छन् सीआईबी
काठमाडौं– आफैं दुई नागरिकता र राहदानी बोकेर टुङरम इन्टरनेशनल ऐकेडेमी (टीआइइए)का सञ्चालक ठुङ्रम ग्याल्टुल शेर्पाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई नै झुक्याएको पाइएको छ।
टुङ्गरम इन्टरनेसनल एकेडेमी (टि.आई.ए) विद्यालयको २९ रोपनी जग्गा बिक्री गर्दा आफ्नो हस्ताक्षर नक्कली भएको भन्दै सञ्चालक ग्याल्टुल शेर्पाले प्रहरीमा दिएको उजुरीमा सीआईबीले अनुसन्धान गर्दा उल्टै आफैंले दुई नागरिकता र पासपोर्ट लिएर विभिन्न कम्पनी खोलेको फेला परेपछि यो रहस्य खुलेको हो।
विद्यालयको २९ रोपनी जग्गाको विषयमा अनुसन्धान माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएपछि प्रहरीले जग्गाको विषयमा अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानमा टुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआइए) प्रालि सञ्चालक समितिको २०७४ पुस २५ को निर्णयबाट भक्तपुरको सूर्यविनायक नगरपालिका दधिकोटस्थित जग्गा बिरुवा ल्यान्ड डेभलपर्स प्रालिलाई बिक्री गर्ने निर्णय भएको पाइएको हो।
सञ्चालक अध्यक्ष ठेल्कर रिन्पोछे शेर्पा, सञ्चालक सदस्य ठुङरम ग्याल्टुल शेर्पा र कर्मा छेरिङ हस्ताक्षरमा निर्णय भएको आधारमा जग्गा बिक्री भए पनि आन्तरिक लेनदेन नमिल्दा ग्याल्टुल शेर्पाले आफ्नो हस्ताक्षर नक्कल गरी कर्मा छेरिङले जग्गा बिक्री गरेको आरोप ठुङ्रमले लगाएका छन्।
प्रहरीले कीर्ते गरिएको भनिएको जग्गा अनुसन्धान गर्दा उल्टै सञ्चालक ग्याल्टुल शेर्पाले कीर्ते गरी दुई नागरिकता र दुई पासपोर्ट झिकेर विभिन्न कम्पनी खडा गरी रहस्यमय तरिकाले कारोबार गरिरहेको प्रमाण भेटेको हो।
उनले पहिलो नागरिकता २०३९ असोज १० गते निकालेका थिए। जसमा नाम ठुङ्गरम ग्याल्टुल रिम्पोछे शेर्पा रहेको छ।
यसमा नागरिकता नम्बर ६६८५–७६४ छ। यो नागरिकतामा उनको जन्ममिति २०२५ असार २९ गते रहेको छ।
यही नागरिकताबाट उनले टुङ्गरम इन्टरनेशनल एकेडेमीमा सञ्चालक बनेको र विभिन्न घरजग्गा खरिद गरेको भेटिएको छ। त्यस्तै बैंक खाता पनि रहेको सीआईबीले फेला पारेको छ।
त्यस्तै, उनले दोस्रो नागरिकता २०५३ साउन ३ गते निकालेका छन्। यसमा उनको जन्ममिति २०३७ असार २९ गते राखेका छन्। यसमा उनको नागरिकता नम्बर ७६४–६६८५ रहेको छ।
यो नागरिकताबाट उनले ध्यान भिल्लाज प्रालि, शिला डेभलपर्स प्रालि, प्रज्ना रिसोर्ट प्रालि, मुदिता डेभलपर्स प्रालिलगायत कम्पनी खोलेका छन्।
ग्याल्टुल रिम्पोछे शेर्पाले यही नामबाट पहिलो पासपोर्ट सन् २०१८ अगस्ट ८ मा निकालेका छन्। पहिलो पासपोर्ट नम्बर ११०३६९२८ रहेको छ।
यसबाट उनले अन्तिम यात्रा सन् २०२४ मे २२ तारिखमा गरेका थिए। त्यस्तै दोस्रो पासपोर्ट सन् २०२२ जनवरी २५ मा ठुङरम ग्याल्टुल शेर्पाको नामबाट निकालेका छन्। उनले पुरानो पासपोर्ट रद्द नगरी नयाँ पासपोर्ट निकालेका थिए।नयाँ पासपोर्ट नम्बर १२६२५६९० रहेको छ।
सीआईबीले गरेको अनुसन्धानमा भने ग्याल्टुल शेर्पाको हस्ताक्षर नक्कली नभएको पाइएको हो।
सीआईबीले हस्ताक्षर परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाएकामा २०८१ साउन ७ गतेको हस्ताक्षर ग्याल्टुल शेर्पासँगै मिल्ने रिपोर्ट आएको थियो।
स्कुलका तत्कालीन सञ्चालक कर्मा छेरिङ शेर्पाले जग्गा बिक्री गर्दा निर्णयमा हस्ताक्षर ग्याल्टुल शेर्पाले नै गरेको बताए।
ग्याल्टुल शेर्पाले केहि राजनीतिक नेता र प्रहरी अधिकृतहरु आफ्नो मान्छे रहेको हुँदा आफूलाई केही नहुने भन्दै स्थानीय एक जना श्रेष्ठ थरका युवालाई मुद्दा लड्न र प्रहरी मिलाउन जिम्मा दिएका छन्। प्रहरीमा उजुरी परेपछि भने ग्याल्टुल हाल विदेश भागेका छन्।