नेपाल र भारतका ऊर्जामन्त्रीबीच ऊर्जा विकासबारे छलफल
काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ ।
‘इन्डिया इनर्जी विक-२०२५’ मा सहभागी हुन भारत नयाँदिल्ली पुगेका मन्त्री खड्काले बुधबार भारतका समकक्षी खट्टरसँग भेटवार्ता गरेका हुन् । भेटमा नेपाल र भारतबीच ऊर्जा विकासका विविध विषयमा छलफल भएको थियो ।
ऊर्जामन्त्री खड्काले गत ५ नोभेम्बर दिल्लीमा भारतका विद्युत् मन्त्री खट्टरसँग भएको भेटमा इनरुवा-पूर्णिया र दोदोधारा-बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रारूपमा सहमति गरेसँगै उक्त प्रसारण लाइन अगाडि बढाउन ९ माघमा दुई देशबीच सहसचिव स्तरीय बैठक र २९ माघमा सचिव स्तरीय बैठक बसेर मोडालिटीबारे सहमति भएकोमा खट्टरलाई धन्यवाद दिए ।
ऊर्जामन्त्री खड्काले गत वर्ष १५ नोभेम्बरमा नेपालबाट भारतीय प्रसारण लाइन हुँदै बांङ्लादेश विद्युत् निर्यात गर्न भारतले गरेको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिए ।
मन्त्री खड्काले नेपालमा सुक्खायामको पिक आवर (साँझ ६ देखि राति १) बजेसम्म भारतीय पावर एक्सचेन्जको विद्युत् उपलब्ध हुन नसकेको भन्दै चौबिसै घण्टा विद्युत् उपलब्धताको स्वीकृत दिन माग गरे ।
हाल भारतले नेपाललाई १ हजार मेगावाट विद्युत् उपलब्ध गराउँदै आए पनि पिक आवरमा भने उपलब्ध गराएको छैन ।
ऊर्जामन्त्री खड्काले नेपालको आफ्नै लगानीमा निर्माण भएको तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् निर्यातका लागि स्वीकृत गर्न ध्यानाकर्षण गराए ।
भेटवार्तामा भारतीय विद्युतमन्त्री खट्टरले फेब्रुअरी अन्तिम साता नेपाल भ्रमण हुने गरी छलफल भएको छ । खड्काले यसअघिको भारत भ्रमण क्रममा खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
भेटमा खट्टरले नेपालको ऊर्जा क्षेत्रको विकासमा सधैँ भारतको साथ र सहयोग रहेको बताए । उनले दुई देशबीचको विद्युत् विकासलाई आपसी छलफल र सहकार्य मार्फत अगाडि बढाउने बताए । खट्टरले भारतीय कम्पनीले नेपालमा बनाइरहेका आयोजनाको आवश्यक सहजीकरण गर्न आग्रह गरेका थिए ।
भेटमा मन्त्री खड्कासँगै ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, मन्त्रीका आर्थिक सल्लाहकार अमित श्रेष्ठ लगायत सहभागी थिए ।
यस्तै भारततर्फबाट खट्टरसँगै विद्युत् सचिव पंकज अग्रवाल र भारतीय विद्युत् संस्था एनएचपीसीका अध्यक्ष आरके चौधरी उपस्थित थिए ।