Nic Ad Nic Ad
Nic Ad Nic Ad
प्रहरीको रेकी

गुन्डाका दाईदेखि भाई नाइकेसम्मको प्रहरीले सूची बनायो, डर त्रास मच्चाउने को–को छन् निगरानीमा

चारै प्रहरी संयन्त्रले सम्बन्धित र माथाहतका युनिटलाई गुन्डामाथि निगरानी बढाउनका लागि निर्देशन गरेका छन्
बिहीबार, फागुन १, २०८१

काठमाडौं– उपत्यका प्रहरी कार्यालय रानीपोखरी माथहत रहेका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरसहित जिल्ला प्रहरी कार्यालय भक्तपुरले तीन जिल्लाका गुन्डा नाइकेको सूची तयार पारेका छन्।

samridhi jewllers

सामाजिक सञ्जालदेखि टेलिफोनलगायत मात्र नभई सहरी इलाकामा डर त्रास फैलाउने गुन्डाका दाई र भाई नाइकेको सूची तयार पारिएको प्रहरीका युनिटहरूले जनाएका छन्। 

चारै प्रहरी संयन्त्रले सम्बन्धित र माथाहतका युनिटलाई गुन्डामाथि निगरानी बढाउनका लागि निर्देशन गरेका छन्। 

प्रहरी उच्च स्रोतले भन्यो,‘कुन पार्टी र संगठनको भन्ने कुरा होइन जसले त्रास सृजना गर्छ उसलाई कारबाहीको दायरामा ल्याउने रणनीति बनिसकेको छ।’

दाई नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनदेखि धादिङका राधे भण्डारीसम्मको सूची तयार भइसकेको प्रहरी स्रोतले जनाएको छ। गुन्डागर्दीबाट राजनीतिमा प्रवेश गरेका दीपक मनाङे डिल्लिबजार कारागारमा भए पनि उनका समूहका भाई नाइकेहरुको पनि सूची तयार भएको बताइएको छ।

राधेले टिकटकमा सामाजलाई आतंकित पार्ने किसिमको भिडिओ पोस्ट गर्ने गरेको प्रहरीको बुझाइ छ।

यो बाहेक कलंकीलाई आधार क्षेत्र बनाएर गुन्डागर्दी गरेको आरोपमा अभिषेक सिंह, न्यूरोडलाई आधार बनाउने बब शर्मा, ठमेल क्षेत्रका सानुकान्छा गुरुङ र साजन गुरुङ, बालाजु आसपासको क्षेत्रमा गुन्डागर्दी गरेको आरोपमा दिपेश धितालसम्मको सूची तयार पारी निगरानी थालिएको छ।

बसपार्क क्षेत्रलाई आधार बनाएर गुन्डागर्दी गरेको आरोपमा सुरेश डंगोल र सानुभाइ भनिने युवराज गुरुङ, बौद्ध क्षेत्रमा गुन्डागर्दी गरेको आरोपमा श्याम लामा, गौशाला क्षेत्रलाई आधार बनाएको आरोपमा धिरेन प्रधान समेतलाई सूचीमा राखेर प्रहरीले निगरानी थालेको विवरण सतहमा आएका छन्।

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतको निर्देशनपछि अपराध अनुसन्धान कार्यालयको गुन्डागर्दी हेर्ने ४ नम्बर पिलर गुन्डाहरूको प्रोफाइलिङ तयार पारेको छ। 

उनीहरूको गतिविधि निगरानी र आवश्यक परेको अवस्थामा पक्राउ गरेर कारबाही गर्नेसम्मको निर्देशन प्रहरीलाई दिइएको छ। 

प्रहरीले तयार पारेको सूचीअनुसार अहिले पनि केही पुराना गुन्डाहरूबाट समेत सुरक्षा चुनौती रहेको विश्लेषण छ।

पछिल्ला केही बर्षहरुमा प्रहरीले गुन्डागर्दी गर्नेमाथि त्यति निगरानी राखेको थिएन। तत्कालिन प्रहरी प्रमुख सर्वेन्द्र खनाल अपराध अनुसन्धान कार्यालय प्रमुखदेखि संगठन प्रमुख रहँदासम्म गुन्डागर्दीमाथि कडा निगरानी र कारबाही हुने गरेको थियो। 

त्यस बखत विभिन्न इन्काउन्टरमा गुन्डाका दाई नाइकेहरुले ज्यान गुमाउँदा गतिविधि सेलाएको थियो भने कतिपय अन्डरग्राउन्ड भएका थिए। 

तर पछिल्ला दिनमा प्रहरी गतिविधि कमजोर भएको अवस्थामा फरक ढङ्गबाट गुन्डा नाइकेहरुले उपस्थितिलाई बलियो बनाउन थालेका छन् भने क्लब र पब एरियामा आक्रमण समेत हुने गरेका छन्। 

यसका पछिल्ला उदाहरण ठमेलमा भएको कुटपिट र लाजिम्पाटको पार्किङमा रड प्रहार गरेको घटना रहेको प्रहरी अधिकारी बताउँछन्। 
 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्