प्रचण्डले कसलाई लक्षित गर्दै भने ‘जनयुद्ध मेटाउने प्रयास गर्ने खरानी हुनेछ’
काठमाडौं– प्रतिनिधि सभामा जनयुद्ध शव्दलाई लिएर सत्ता पक्ष खासगरी एमाले र माओवादीबीच केही दिनअघि भएको भनाभनबीच पुष्पकमल दाहाल प्रचण्डको कडा चेतावनी विहीबार प्रकट भएको छ।
पेरिसडाँडामा फागुन १ अर्थात् माओवादी युद्ध सुरु भएको अवसरमा गरिएको ३०औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठूलो युगान्तकारी परिवर्तन गराउने परिघटना थियो,’ उनले भने ‘यसले आज मात्र होइन, सयौं वर्षसम्म पनि प्रेरणा दिइरहने छ। यसलाई कसैले मेटाउन सम्भव छैन, जसले मेटाउने प्रयास गर्छ, उ खरानी हुनेछ।’
सरकारमा प्रधानमन्त्री रहेका बेला यस दिनमा उनले सार्वजनिक विदा दिएका थिए। तर, पछिल्ला सरकारले भने विदा दिन बन्द गरिदियो।
जनयुद्ध दिवस राष्ट्रिय दिवस नै भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले शान्ति प्रक्रिया नटुंग्याएको कारण देखाएर अदालतले स्थगन गरे पनि यो राष्ट्रिय दिवस भएको र यसलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गरेरै छाड्ने बताए।
‘हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छौं। यसको मुख्य प्रेरणा जनयुद्ध नै हो,’ उनले भने ‘हामी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा र विकास गरेर संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै समाजवादको आधार तयार गर्ने यात्रामा छौं।’
पछिल्ला दिनमा एमालेले सदनमा नै संविधानले जनयुद्ध शव्द नचिन्ने तर माओवादी हिंसाचाहिँ उल्लेख रहेको भनी चर्चा गरेको थियो। खासगरी सचिव योगेश भट्टराईले यस विषयमा माओवादीका सांसदसँग विवाद नै गरेका थिए।
प्रचण्डको यो अभिव्यक्ति एमाले र प्रधानमन्त्री केपी शर्मा ओली लक्षित रहेको भनी बुझिन्छ।
जनयुद्ध र जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यतालाई एकथरि तत्वले अस्वीकार गर्ने र जनताका अधिकार कुण्ठित गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै प्रचण्डले यी सबै प्रयास असफल पार्न आफूहरुले निरन्तर अग्रगमनका लागि संघर्ष गरिरहेको बताए।
बुधबार त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पूर्वी रुकुमका जनप्रतिनिधिलाई जनयुद्ध दिवसका नाममा स्थानीय सरकारले विदा नदिनू भनी परिपत्र नै गरेका थिए।
‘अहिले पनि दुई वर्ग र प्रवृत्तिका बीचमा संघर्ष चलिरहेको छ। हामीले धेरै वर्ष पहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगे पनि प्रतिक्रियावादीहरुले जनताको गणतन्त्र हुन नदिने प्रयास हुनेछ भनेर आँकलन गरेका थियौं, आज त्यही स्थिति बनेको छ’ प्रचण्डले भने ‘एकथरि तत्व संविधानका अग्रगामी प्रावधान उल्ट्याउने प्रयासमा लागिरहेका छन् तर हामी यसलाई समाजवादी गणतन्त्रमा लैजान चाहन्छौं । यो संघर्ष चलिरहेको छ।’