Nic Ad Nic Ad
Nic Ad Nic Ad
टिप्पणी

प्रतिनिधि सभा हेर्दा लाग्छ ‘नाच मेरी बुलबुलको पैसा मिलेगा’

बिहीबार, फागुन १, २०८१

काठमाडौं– एउटा शिष्ट समाज भनेको रचनात्मक र सृजनात्मक हुन्छ। ७० बर्षदेखि राजनीतिक अस्थिरताको रङ्गमञ्च बनिरहेको छ, नेपालको प्रतिनिधि सभा बैठक। 

प्रधानमन्त्री आउँछन् सरकारको महत्व र भावी योजनाको विषयमा भन्दा अन्यलाई व्यङ्ग्य गर्नमा प्रशस्त समय खर्च गर्छन्। 

प्रतिपक्षी दलको नेता आउँछ जनताको सवाललाई उठाउँदैन मुखभरीको जवाफ दिन्छ र मुद्दाबाट भड्किन्छ। 

अर्को आउँछ जनताका सवाल कम र आफ्ना नेतामाथि भइरहेको कानुनी छानबिन रोक्नुपर्छ भनी तथानाम बोल्न थाल्छ। 

अर्को चर्को नारा लगाउन थाल्छ र यो व्यवस्था नै खत्तम भयो भन्छ। फ्लोरमा सांसद मुखामुख मुखाले शैलीमा प्रस्तुत हुन्छन्। शीर्ष भनिएका नेताको सुँगा बन्छन्। 

प्रतिनिधि सभाको औचित्य नजानेको हो या यहि रवैयामा राजनीतिक हुन्छ। भन्न खोजिएको हो? टिप्पणीकार अलमलमा पर्छ। 

खासमा प्रतिनिधि सभामा आउने सदस्य जनताको प्रतिनिधि हो भन्ने विर्सन्छन् कि सम्झन चहाँदैनन्? यो अहम् प्रश्न बनेको छ। 

प्रतिनिधि सभा कुनै पनि लोकतान्त्रिक देशको विधायिकाको महत्त्वपूर्ण अङ्ग हो। नेपालमा संघीय संसद् दुई सदनयुक्त संरचनामा रहेको छ, जसमा प्रतिनिधि सभा र राष्ट्रिय सभा पर्दछन्। 

प्रतिनिधि सभा जनप्रतिनिधिहरूको सभा भएकाले यहाँका सांसदहरूले जनताको आवाज बुलन्द गर्ने, नीतिगत बहस गर्ने, कानुन निर्माण गर्ने तथा सरकारको नीति तथा कार्यक्रमबारे प्रश्न उठाउने कार्य गर्दछन्। 

अन्डरलाइन गरेर बुझ्न आवश्यक छ– त्यसैले, सांसदहरू सभामा प्रस्तुत हुँदा गरिमामय, अनुशासित, तर्कसंगत र जनउत्तरदायी रूपमा प्रस्तुत हुनु अत्यन्तै आवश्यक छ।

सांसदहरूको प्रस्तुतिको तरिका र शैली कस्तो हुनुपर्ने हो? 

सांसदहरूले सभाको मर्यादा कायम राख्दै आफ्ना विचारहरू व्यक्त गर्नुपर्छ। तर्कसंगत, तथ्यमा आधारित र आदर्श नैतिक मापदण्ड अनुरूप प्रस्तुत हुँदा मात्र जनतामा सकारात्मक सन्देश जान्छ।

अशोभनीय शब्द, व्यक्तिगत आक्षेप वा अनर्गल टिप्पणी गर्दा संसदको गरिमा खस्कने भएकाले सांसदहरूले मर्यादित भाषा प्रयोग गर्नुपर्छ। आलोचना गरिहाल्नै परे पनि तथ्यमा आधारित तर्क दिँदै सभ्य रूपमा प्रस्तुत हुनुपर्छ।

सांसदहरू जनताद्वारा निर्वाचित प्रतिनिधिहरू हुन्, त्यसैले उनीहरूले जनता र मुलुकको हितका लागि काम गर्नुपर्छ। जनताको माग, समस्या तथा आवश्यकतासँग सम्बन्धित विषयहरू उठाएर सरकारलाई जवाफदेही बनाउने भूमिका निर्वाह गर्नुपर्छ।

संसदमा प्रस्तुत गरिने विधेयक, नीति, बजेट वा अन्य महत्त्वपूर्ण विषयहरूमा बहस गर्दा सांसदहरूले गहिरो अध्ययन गरी तर्कसंगत विचार राख्नुपर्छ। तथ्यहीन, आधारहीन वा सतही तर्कले संसदलाई प्रभावकारी बनाउन सक्दैन।

सांसदहरूले केवल आफ्नो धारणा मात्र राख्ने होइन, अरूको विचार सुन्ने, बुझ्ने र सम्मानपूर्वक जवाफ दिने प्रवृत्ति अपनाउनुपर्छ। यो एक स्वस्थ संसदीय परम्परा हो, जसले लोकतान्त्रिक संवादलाई सशक्त बनाउँछ।

प्रतिनिधि सभामा कार्यसम्पादनका लागि निश्चित नियम, प्रक्रिया तथा निर्देशिका हुन्छन्। सांसदहरूले ती विधि अपनाउँदै सभामा छलफल गर्नु पर्छ। सभाभित्र अमर्यादित व्यवहार गर्दा कारबाही समेत हुनसक्छ, त्यसैले संसदीय आचारसंहिता पालन गर्नु आवश्यक छ।

सांसदहरूले जात, धर्म, क्षेत्र वा कुनै पनि विभाजनकारी मुद्दाहरूलाई बढावा दिने काम गर्नुहुँदैन। राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुता प्रवद्र्धन गर्ने किसिमले प्रस्तुत हुनुपर्छ।

जब सांसदहरू संसदीय मर्यादा कायम गर्दै गहन छलफल गर्छन्, तब संसदले जनमुखी कानुनहरू बनाउन सक्छ, जसले लोकतान्त्रिक शासन प्रणालीलाई मजबुत बनाउँछ।

गहन अध्ययन र तर्कपूर्ण बहसले संसदलाई विचारमंथनको उत्कृष्ट स्थल बनाउँछ, जसले नीति निर्माणमा गुणस्तर वृद्धि गर्छ।

सांसदहरू जब तथ्यपूर्ण रूपमा प्रस्तुत हुन्छन्, तब जनताका वास्तविक समस्याहरू संसदमा प्राथमिकताका साथ उठ्न सक्छन्, जसले जनताको आवाजलाई बल दिन्छ।

सांसदहरूले सरकारको गतिविधि अनुगमन गर्न, प्रश्न उठाउन तथा नीति निर्माणमा हस्तक्षेप गर्न प्रभावकारी रूपमा भूमिका निर्वाह गर्न सक्छन्।

मर्यादित, अनुशासित र तथ्यमा आधारित छलफल गर्दा संसदको गरिमा रहन्छ, जसले सम्पूर्ण राजनीतिक प्रणालीलाई नै मजबुत बनाउँछ।

तर हाम्रा शीर्ष भनिएका नेताले त्यसो गरेका छन् त? शेरबहादुर देउवाले मात्र यो मर्यादालाई कायम गरेको जस्तो देख्छ टिप्पणीकार, सदनमा। बाँकी प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको प्रस्तुती प्रतिशोधात्मक देखिन्छ। 

रास्वपा सभापति रवि लामिछाने र तिनका २१ सांसदको त कुरै छाडौं। नीतिगत तहका विषयमा थोरै बोले पनि प्रस्तुतीकरण हेर्दा समाजको बिम्ब हुन् कि होइनन् भन्ने लाग्छ। 

राप्रपाका ज्ञानेन्द्र शाहीको शैली होस् या स्वतन्त्र सांसद अमरेश सिंहसम्म हेर्दा अझ सदनको अभ्यास खाँचो नै छ भन्ने प्रतीत हुन्छ। अन्य सांसद त दलका नेतालाई मालिक खुसी बनाउने तरिकाले प्रस्तुत हुन्छन्। अनि, आफू बफादार भएको देखाउँछन्।

टिप्पणीकारलाई अहिलेको राजनीति र सदनको प्रस्तुती हेर्दा एउटा बफादार नोकरको चुटकिला याद आउँछ।  

एउटा चुट्किला सुनेको थिएँ। एउटा मालिकले नोकरलाई भन्छ– रेडियोमा के समाचार दिन्छ। राति सुनेर बिहान मलाई जस्ताको तस्तै सुनाउनु। 

नोकरले भनेछ– हुन्छ, हजुर। 

मालिक सुत्न गयो। राति नौ बजेको समाचार आयो। समाचारमा भन्छ– यो रेडियो नेपाल हो। नौ बजेको समाचार सुन्नुहोस्। महात्मा गान्धीले इन्दीरा गान्धीलाई भन्नुभयो...।

बिजुली काटिएछ। नोकर रेडियो सुनिरहेको छ। केही समयपछि लाइन फेरि आयो। अनि रेडियो बज्यो। रेडियोमा गीत बजिरहेको थियो। ...नाच मेरी बुलबुलको पैसा मिलेगा।

बिहान भयो। मालिकले नोकरलाई सोध्यो– राती रेडियोमा समाचार सुनेको हो? नोकरले भन्यो– हो, हजुर। 

‘अनि, के भन्यो त समाचारमा?’

नोकर भन्छ– यो रेडियो नेपाल हो। नौ बजेको समाचार सुन्नुहोस्। महात्मा गान्धीले इन्दीरा गान्धीलाई भन्नुभयो, नाच मेरी बुलबुलको पैसा मिलेगा।

राजनीतिमा यो तहको बफादार नोकर बन्ने हो भने राजनीति नगर्नुहोस्। बफादार त्योप्रति बन्नुहोस् जसले तपाईलाई प्रतिनिधि बनाएर जिताएर पठाएको छ। ति जनताहरु हुन् मालिक जसको तपाई प्रतिनिधि हो। हेक्का होस् एउटा इमान्दार सुँगा बन्दा त्यसले पिँजडा मात्र देख्न पाउँछ। एउटा इमान्दार पक्षी बन्दा उसको उडानको गति निक्कै दूरसम्म हुन्छ।

बेलैमा बुद्धिको विर्को खुलोस्।
 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १३:०२
प्रतिक्रिया दिनुहोस्