Nic Ad Nic Ad
Nic Ad Nic Ad

...अनि इन्तु न चिन्तुमा रहेका युवराज दीपेन्द्रको उपचारकक्ष नहेरी तर्किइन् रत्न राज्यलक्ष्मी शाह

बिहीबार, फागुन १, २०८१

काठमाडौं– दरबार हत्याकाण्डका दिन वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा रहेका युवराज दीपेन्द्र शाहका विषयमा एउटा नयाँ घटना उपक्रमका विषयमा खुलासा भएको छ।

राजा वीरेन्द्र वीरविक्रम शाहको एडीसी समेत रहीसकेका प्रहरीका पूर्वअतिरिक्त महानिरिक्षक (एआईजी) सुरेन्द्रबहादुर शाहले त्यो प्रसङ्ग खुलाएका छन्।

पत्रकार सुधीर शर्मासँगको पोडकास्टमा उनले दरबार हत्याकाण्डको दिनलाई सम्झँदै भनेका छन्,‘राती म छाउनीस्थित अस्पतालमा पुगिसकेको थिएँ।

राजा वीरेन्द्र, युवराज दीपेन्द्रसहितलाई अस्पतालमा राखिएको थियो। दरबारमा त्यस्तो घटना हुँदा त्यहाँको सबै कार्यभार मुमावडामहारानीलाई हुने रहेछ। उहाँको सवारी भयो।’

शाहले अगाडि भनेका छन्,‘राजा वीरेन्द्रलाई हेर्नुभयो। अनि, युवराज दीपेन्द्रको उपचार कक्षलाई नहेरी तर्किएर उहाँ हिँड्नुभयो।’

दरबार हत्याकाण्डमा मुमा वडामहारानी रत्न राज्यलक्ष्मी शाह परेकी थिइनन्। शाह अगाडि भन्छन्,‘राजा ज्ञानेन्द्र आउन समय लाग्ने भएको हुँदा त्यसबखत दरबारको शासन प्रमुख मुमावडामहारानी हुने चलन रहेछ।’

दरबार हत्याकाण्ड दीपेन्द्रबाट नै भएको हुनसक्ने आँकलन पनि उनले गरेका छन्। तर, प्रष्टसँग भनेका छैनन्। पूर्वएआईजी सोही प्रसङ्गमा भन्छन्,‘शासन सत्ताका लागि के कस्ता घटना भएका थिए हुन सक्छ ति उदाहरण लिन सकिन्छ।’

राजा वीरेन्द्रका सन्दर्भमा शाहले भनेका छन्,‘उहाँ जत्तिको मानिस मैले अहिलेसम्म संसारमा कहिँ देखेको छैन। त्यति शालिन र भद्र राजा कहाँ पाइन्छ र?’

पूर्वएआईजी शाहले दरबार हत्याकाण्डको छानबिन राजनीतिक हिसाबले भएका कारण पनि परिणाम निस्कन नसकेको हुन सक्ने औंल्याएका छन्। 

‘अनुसन्धान गर्ने निकायलेचाहिँ अनुसन्धान गर्नुपर्नेमा राजनीतिक समिति बनाएर हुन्छ? सभामुखले, न्यायाधीले अनुसन्धान गरेर परिणाम निस्कन्छ?’, उनको प्रश्न छ,‘त्यहिँनेर गल्ती भएको हो भन्ने मलाई लाग्छ।’

छानबिनपछि गरिएको पत्रकार सम्मेलनमा समितिमा रहेका तत्कालिन सभामुख तारानाथ रानाभाटले घटना दीपेन्द्रले गराएको भनी ‘भटटटट..गोली दागेको’ भन्ने प्रस्तुतीले दरबार हत्याकाण्ड शंकास्पद र रहस्यमय बनेको थियो।

अर्को प्रसङ्गमा शाहले तत्कालिन माओवादीका तेस्रो तहका नेता रामबहादुर थापा बादललाई पक्राउ गर्ने अवस्था हुँदा अनुमति नपाएको सुनाएका छन्।

उनले भने,‘थानकोटबाट स्पोट गरियो, ५ जना केटालाई गाडीमा बसाएँ। उहाँ (बादल) तीन जना बडीगार्डसहित हुनुहुन्थ्यो। तर, चन्द्रौटासम्म पुग्दा पनि अनुमति नपाएपछि केटाहरुलाई फर्काएँ।’

शाह त्यसबेला प्रहरीको प्रतिआतंकवाद हेर्ने विशेष ब्युरोमा कार्यरत रहेका थिए। 

पोडकास्टमा शाहले अहिलेको प्रहरीको ऐन कार्यान्वयनमा जानु उचित नहुने पनि राय दिएका छन्। यो ऐनमा गृह मन्त्रालयले प्रहरी परिचालन गर्ने तर महानिरिक्षक (आईजी)चाहिँ प्रशासक मात्र हुने व्यवस्था रहेको बताएका छन्। 

प्रहरीलाई प्रमुख जिल्ला अधिकारीको तहभन्दा तल राखिएको बताएका उनले प्रादेशिक तहमा जाँदा वा समायोजन गर्दा महानगरीय प्रहरीको अवधारणा कार्यान्वयन गर्न आवश्यक रहेको सुझाव दिएका छन्।
 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्