Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘जनयुद्ध’ दिवसमा झापड र जुत्ताको झटारोले झस्किन्छन् प्रचण्ड

बिहीबार, फागुन १, २०८१

काठमाडौं– पेरिसडाँडाको औपचारिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युद्ध सुरु गरेको फागुन १ लाई अपमान गर्ने खरानी भएर जाने चर्को भाषण दिए।

उनी सरकारबाट अलग भएर प्रतिपक्षीको कित्तामा पुगेपछि जनतातिर फर्किएको बताएका छन्। एउटा अन्तरवार्तामा त प्रचण्डले आगामी निर्वाचनमा मैदानमा उत्रिनका लागि कांग्रेस र एमालेलाई चुनौती पनि दिए।

जनताको मुक्तिका लागि भनी द्वन्द्व र हतियारको राजनीति सुरु गराएका प्रचण्ड फागुन १लाई ‘महान् जनयुद्ध’ भन्छन्। तर, शान्तिपूर्ण राजनीतिमा आएपछि १८ सरकारमा १५ सरकार कुनै न कुनै हिसाबले चलाउँदा समेत शान्ति प्रक्रियाका काम पूरा गर्न नसकेका प्रचण्डको पार्टी अनेक टुक्रा मात्र भएको छैन, नेताहरु तितरवितर भएर कोही अलग दलगत झुन्ड र फरक पार्टीमा रहेका छन्।

यहि दिनमा प्रचण्ड दुई कुराले झस्किने पनि गरेका छन्।

माओवादी युद्धलाई सत्ता स्वार्थको हतियार बनाएको भन्दै उनीमाथि एक पटक झापड प्रहार भएको थियो भने अर्को पटक झुत्ताको झटारो हानिएको थियो। 

२०६९ साल मंसिर १ राजधानीको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई झापड हान्ने पदम कुवँर पूर्वमाओवादी थिए। 

प्रचण्डले उनको पीडालाई बुझ्नुको साटो समयकाल मिलाएर पक्राउ गराए। तर उनको विषयलाई सम्बोधन गर्न सकेनन्।

उता, २०७६ सालमा पनि प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो।

एमालेसँग एकता गरी नेपाल कम्युनिस्ट पार्टी बनाएका बेला प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको थियो। 

नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको थियो। 
पक्राउ पर्ने जुम्लाका २२ वर्षीया रतन तिरुवा थिए। 

सुर्खेतमा अमिनको अध्ययन सकेर उनी केहीअघि काठमाडौं आएका थिए। प्रहरीलाई उनले दिएको बयान अनुसार तिरुवा लोक सेवा आयोगको परीक्षाको तयारी गरिरहेका थिए।

तिरुवाले प्रहरीलाई बयान दिने क्रममा प्रचण्डले दिएको भाषणबाट आफूलाई चित्त नबुझेको बताएका थिए। प्रचण्डले भाषणका क्रममा भनेको वर्ग संघर्ष सम्बन्धी कुराले आफू आवेशमा आएको उनको भनाइ थियो।

उनले आफ्नो बुबा मुन तिरुवा दश वर्षे सशस्त्र द्वन्द्वमा मारिएको दाबी गरेका थिए।

प्रहरीले रतनमाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा रतनमाथि अनुसन्धान गरेको थियो।

जनयुद्धलाई अपमान गर्ने खरानी हुने बताइरहँदा प्रचण्डले पीडित परिवारलाई अहिलेसम्म राहत हुने काम नगरेका कारण यस्ता घटना हुने गरेको समाजशास्त्रीहरु बताउँछन्। 

‘राजनीतिप्रति वितृष्णा भन्दा पनि आफूले भोगेको पीडाको आवेगमा आएर नेताहरुमाथि यसरी हमला हुने गरेका छन्’, समाजशास्त्रीहरु भन्छन्,‘नेपालमा मात्र होइन, माओवादी या प्रचण्डको मात्र होइन अन्य नेतामा पनि यस्तो घटना हुन सक्छ।’

नेपालमा प्रचण्डलाई मात्र होइन हाल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई इटहरीमा, माओवादीका नेता झक्कु सुवेदीलाई तीनकुनेमा झापड हानिएको थियो। 

यहि उपक्रममा नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालालाई कपनमा कुर्सी प्रहार भएको थियो। यस्तो घटनालाई अखबारीय भाषामा ‘कपी क्याट क्राइम’ पनि भन्ने गरिएको छ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १५:१८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार