ढुकुटीमा चाप परेपछि अर्थ मन्त्रालयद्वारा खर्च गर्न बाँकी बजेटको २५ प्रतिशत रोक्का
काठमाडौ - ढुकुटीमा चाप परेपछि अर्थ मन्त्रालयले अब खर्च गर्न बाँकी रहेको रकमको २५ प्रतिशत हिस्सा रोक्का गरिदिएको छ ।
अनिवार्य दायित्वबाहेकको चालू खर्च तथा पूँजीगत खर्चतर्फ विनियोजित नेपाल सरकार स्रोततर्फको रकमममध्ये हालसम्म खर्च भई बाँकी रहेको रकमको २५ प्रतिशत रोक्का राख्ने निर्णय मन्त्रालयले गरेको हो ।
चार शिर्षक अन्तर्गत विनियोजित बजेटमध्ये बाँकी रकमको २५ प्रतिशत रकम रोक्का गरिएको भन्दै चालू आवमा विनियोजित बजेट खर्चलाई सोहीअनुरुप समायोजन गर्न अर्थले भनेको छ ।
रोक्का गरिएका बजेट शिर्षकमा कर्मचारी तालिम खर्च (तालिम केन्द्र र प्रतिष्ठानबाट सञ्चालन हुनेबाहेकमात्र), कार्यक्रम खर्च, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्स्चर र पुँजीगत परामर्श छन् ।
गत मंगलवार सचिवस्तरीय निर्णयबाट मन्त्रालयले परिपत्र गरेको छ । निर्णयसहितको परिपत्र अर्थले सबै मन्त्रालयमा पठाएको छ ।
चालू आवको बाँकी अवधिमा राजस्व प्राप्तिमा हुने सुधार तथा खर्चको आवश्यकताको आधारमा बजेट रोक्का तथा नियन्त्रणमा पुनरावलोकन गर्न सकिने अर्थको परिपत्रमा उल्लेख छ ।