प्रधानमन्त्री ओलीसित नेपाल प्रहरीका ७ पूर्वआईजीः के भयो कुराकानी?
काठमाडौं– नेपाल प्रहरीका ७ जना पूर्वमहानिरिक्षक (आईजी)ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विहीबार साँझ बालुवाटारमा भेटवार्ता गरेका छन्।
नेपाल प्रहरीका अवकाशप्राप्त आईजीहरू मोतिलाल बोहरा, अच्युतकृष्ण खरेल, ओमबिक्रम राणा, रमेश चन्द ठकुरी, कुबेरसिंह राना, उपेन्द्रकान्त अर्याल र धिरजप्रताप सिंहले भेट गरेका हुन्।
उक्त भेटका क्रममा सदनमा ल्याइएको नयाँ प्रहरी ऐनमा रहेका कतिपय विषयलाई परिमार्जन गर्न आवश्यक रहेको सुझाव पूर्वआईजीहरूले दिएको बताइन्छ।
पूर्वआईजीले गृहको नियन्त्रण तथा परिचालन र सुपरीवेक्षणको विषय सच्याउन माग गरेका थिए।
गृहका कर्मचारीले समेत प्रहरी परिचालन गर्नसक्ने राखिएका बुँदाहरु करेक्सन गर्नुपर्ने माग प्रधानमन्त्री ओलीलाई राखेपछि त्यसमा सच्याउन सकिने जवाफ पाएको सहभागी एक जनाले बताए।
संसदमा भर्खरै विद्येयक दर्ता भएको र छलफल हुन बाँकी नै रहेकाले सच्याउन सकिने बताएका थिए।