Nic Ad Nic Ad
Nic Ad Nic Ad

सत्ता गुमेपछि ‘पपुलिस्ट’ बाटोमा प्रचण्डः राजनीतिमा ‘पपुलिजम’को अर्थ

शुक्रबार, फागुन २, २०८१

काठमाडौं– ०७९ सालको निर्वाचनमा ठूलो गठबन्धन गर्दा पनि नेकपा माओवादी केन्द्रले ‘मार’ खायो। ०८४ को आवधिक निर्वाचनसम्म पुग्दा माओवादी २० बर्षमा सबैभन्दा ठूलो दलदेखि खुम्चिँदै निक्कै कमजोर अवस्थामा पुग्न सक्ने पूर्वानुमानलाई तोड्नका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाटो मोडेका छन्।

०७९ को निर्वाचनमा ‘पपुलिस्ट’ राजनीतिको फेरो समातेर उदायो रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)। १८ महिनासम्म यो अवधिमा सरकारको नेतृत्व र समीकरण फेरबदलको प्रयोग गरेर प्रतिपक्षमा पुगेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बाटो बदलेका छन्।

बाटो बदल्नका लागि उनले सानो स्पेश राखेका थिए, रास्वपाप्रति सहानुभूति, हर्क साम्पाङ र बालेन शाहलाई लोकतन्त्रमा फूलेका फूल भनेर।

यहि स्पेशको सदुपयोग गर्दै अहिले देश दौडाहा मात्र हैन सत्ताप्रति आक्रामक शैलीमा प्रस्तुत हुने र पपुलिजमलाई नयाँ राजनीतिक धारका रुपमा उपयोग गर्ने शैलीमा प्रचण्ड प्रस्तुत भइरहेका छन्। 

खासगरी यसका दुई अर्थ छन्। मूलधारको राजनीतिमा टिकिरहने र पपुलिजमलाई बाटो बनाइरहेका नयाँ भनिनेलाई झाँगिन नदिने। परम्परागत सत्ताका कारण जनतामा रहेको निराशा र आक्रोशले नेपालमा अहिले पपुलिस्टले नै स्थान बनाउन सक्ने आँकलन स्वभाविक हो। 

अहिले रास्वपा नै छायाँमा पर्नेगरी पपुलिस्ट बाटोमा छन्, प्रचण्ड। कांग्रेस र एमाले रक्षात्मक अवस्थाको पदचापमा नै रहेका बेला प्रचण्ड पपुलिस्ट बाटोमा मोडिँदा माओवादीलाई त फाइदा हुने नै छ तर जसले पपुलिस्ट राजनीतिलाई मार्ग बनाए तिनको बिस्तारचाहिँ खुम्चिने सम्भावना रहन्छ। 

पपुलिस्ट राजनीति के हो त? 

‘पपुलिस्ट’ राजनीति एक प्रकारको राजनीतिक रणनीति हो, जसमा नेता वा राजनीतिक दलले आफूलाई जनताको प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै विद्यमान सत्ता, प्रतिष्ठान वा सत्तारूढ वर्गको विरोध गर्छन्। 

पपुलिजम विभिन्न राजनीतिक प्रणाली र विचारधारासँग समाहित हुन सक्छ। यसलाई वामपन्थी वा दक्षिणपन्थी दुवै खेमाका नेताहरूले अपनाउने गरेका छन्। प्रचण्ड बामपन्थी खेमाको रहेको दाबी गर्छन्। कम्युनिस्ट पार्टी भएका कारण हाललाई बामपन्थी मान्न सकिन्छ।

पपुलिजम भनेको ‘हामी बनाम उनीहरू’को अवधारणामा आधारित राजनीतिक शैली हो। यसमा जनतालाई एकजुट पार्दै सत्तासीन वा प्रभावशाली वर्गलाई दुश्मनका रूपमा चित्रित गरिन्छ। 

प्रचण्डले हालैका दिनमा प्रतिपक्षीको भूमिका पाएपछि सत्ता पक्षमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेमाथि गरिरहेको प्रहार यसको उदाहरण हो। अझ सरकारको नेतृत्व गरेको एमालेमाथि प्रचण्डको तिव्र प्रहार छ।

पपुलिस्ट नेताहरूले आफूलाई जनताको आवाजको रूपमा प्रस्तुत गर्छन् र प्रायः परम्परागत राजनीतिक दलहरू वा संरचनालाई भ्रष्ट, निष्क्रिय, वा जनविरोधी बताउँछन्।

पपुलिस्ट नेताहरूले आफूलाई जनताको वास्तविक प्रतिनिधि भनी दाबी गर्छन्। उनीहरू जनताका भावनालाई आफ्ना नीतिहरूमा समाहित गर्न खोज्छन्। उनले जनयुद्धका नाममा विहीबार मात्र गरेको भाषण यसको उदाहरण हो। 

पारम्परिक राजनीतिक दल, उच्च पदस्थ नेता, आर्थिक र सांस्कृतिक रूपमा प्रभावशाली वर्गलाई उनीहरू प्रतिद्वन्द्वीका रूपमा चित्रित गर्छन्।

‘हामी बनाम उनीहरू’को अवधारणालाई जोड दिन्छन्। ठ्याक्कै प्रचण्डको शैली त्यस्तै छ। प्रतिनिधि सभामा रास्वपा सभापति रवि लामिछानेको निलम्बन भएपछि त्यस्तो जोडदार भाषणमा प्रचण्ड नै अग्रसर देखिन्छन् जुन उनी ०६४ अघिको संविधानसभाको निर्वाचनमा देखिन्थे।

जटिल समस्या समाधान गर्न सजिलो, तत्काल, र लोकप्रिय उपायहरूको प्रस्ताव गर्छन्। उदाहरणका लागि, भ्रष्टाचार अन्त्य गर्न कडा कानुन बनाउने, आप्रवासन बन्द गर्ने, कर घटाउने, आदि।

पपुलिस्ट नेताहरूले जनताको डर, असन्तोष, र आशालाई आधार बनाएर भावनात्मक राजनीति गर्छन्। अहिले विभिन्न भ्रष्टाचार प्रकरणबारे सदनमा प्रचण्डले गरेको भाषण त्यसैको उदाहरण र आधार हो। उनले भनेका थिए,‘शेरा दरबार वा क्यान्टोनमेन्ट काण्डमा मेरो नाम भए मैबाट छानबिन सुरु गर्नुस्। ताकत भए प्रचण्डबाट नै छानबिन थाल्नुहोस्।’

भाषणहरूमा गहिरो राष्ट्रवाद, धर्म, जातीय पहिचान, वा सामाजिक समानताको कुरा उठाउँछन्। सदनमा प्रचण्डले दलित, महिला, जनजाती र आदीबासीको प्रतिनिधित्व माओवादीले गराएको भनी दाबी गर्नु अर्को उदाहरण हो। उनी तथ्यांकसहित प्रस्तुत भएका थिए। 

जनतालाई आर्थिक लाभ, सरकारी अनुदान, वा सामाजिक सुरक्षाको प्रतिज्ञा गर्छन्। व्यापार संरक्षणवाद, घरेलु उत्पादन प्रवद्र्धन, वा कर छुट जस्ता नीतिहरू प्रस्ताव गर्छन्।

संचारका वैकल्पिक माध्यमहरूको प्रयोग अर्को उपाय हो। परम्परागत सञ्चार माध्यमलाई पूर्वाग्रही वा भ्रष्ट ठानी उनीहरू आफ्नै माध्यमहरू (जस्तैः सामाजिक सञ्जाल) प्रयोग गर्छन्। ठ्याक्कै अहिले माओवादी र प्रचण्डले अपनाएको विधि पनि यहि हो। जुन रवि लामिछाने र रास्वपालगायतले उपयोग गरिरहेका थिए। 

प्रत्यक्ष जनता संवाद, डिजिटल क्याम्पेन, वा विरोध प्रदर्शनलाई महत्व दिन्छन्। 

पपुलिजमको विचारधारा कुनै एक दिशामा सीमित हुँदैन। यो वामपन्थी वा दक्षिणपन्थी दुवै रूपमा देखा पर्न सक्छ।

समानता, धनी वर्गको विरोध, जनताको आर्थिक हितको रक्षा गर्न केन्द्रितमा रहन्छन्। दक्षिण अमेरिकी नेताहरू (ह्युगो चाभेज, एवो मोरालेस) यसका उदाहरण हुन्। प्रचण्ड यहि पदचापमा छन्। 

अमेरिकी राजनीतिमा बर्नी स्यान्डर्सको अभियान अर्को उदाहरण हो। 

दक्षिणपन्थी पपुलिस्ट राजनीति पनि हुन्छ। जस्तो आप्रवासन विरोध, सांस्कृतिक पहिचान, राष्ट्रवाद, परम्परागत मूल्यहरूको संरक्षणमा केन्द्रित।

यसको उदाहरण डोनाल्ड ट्रम्प (अमेरिकाका हालका राष्ट्रपति)को पुनर्दोय मान्न सकिन्छ।  नरेन्द्र मोदी (भारतका प्रधानमन्त्री)को तेस्रो जीत पनि आधार हो। ब्राजिलका जायर बोल्सोनारो पनि दक्षिणपन्थी पपुलिस्ट राजनीतिका उदाहरणका रुपमा लिन सकिन्छ। 

पपुलिस्ट राजनीतिका सकारात्मक र नकारात्मक प्रभाव छन्। जनताको आवाज राजनीतिमा बलियो रूपमा समेटिनु, परम्परागत राजनीतिमा सुधार ल्याउने सम्भावना, भ्रष्टाचार र अन्यायको विरोध गर्नु यसको उदाहरण हो। 

यसका नकारात्मक प्रभावहरू पनि छन्। परम्परागत संरचना तोडफोड गर्दा अनिश्चितता पैदा हुन्छ। समाजलाई विभाजन गर्न सक्छ। छोटो अवधिका लोकप्रिय नीतिहरूले दीर्घकालीन समस्या निम्त्याउन सक्छ।

पपुलिस्ट राजनीति मूलतः जनताका भावना र असन्तोषलाई उपयोग गर्दै राजनीति गर्ने शैली हो। यसका सकारात्मक र नकारात्मक दुवै पक्ष छन्। यसले जनताको मुद्दालाई अगाडि ल्याउन मद्दत गर्छ तर कहिलेकाहीं समाजमा ध्रुवीकरण र राजनीतिक अस्थिरता निम्त्याउन पनि सक्छ। त्यसैले, पपुलिजमको प्रभाव देशको राजनीतिक, आर्थिक, र सामाजिक सन्दर्भअनुसार फरक हुन सक्छ।

लाखौंको संख्यामा वैदेशिक रोजागरीमा जाने जनताको असन्तुष्टि, सरकारले युवालाई रोजगारी दिन नसक्नुलगायत भ्रष्टाचारको आक्रान्त अवस्थाले पपुलिस्ट राजनीति नेपालमा फैलन थालेको छ। यो फैलावटलाई प्रभावमा राखेर रास्वपा जसरी उदायो, स्वतन्त्र उम्मेदवारको उदय जसरी भयो, दुर्गा प्रसाईंहरुको अभियानमा जसरी मानिस आकर्षित भए त्यसरी नै गुमिरहेको साख जोगाउनका लागि प्रचण्ड सडकतिर पपुलिस्ट नेताका रुपमा फर्किएको प्रतीत हुन्छ।

त्यसैले त उनले सदनमा हाँक दिँदै भन्ने गरेका छन्,‘यो सरकार आफैं ढल्छ भनेको हो, ढाल्छु भनेको छैन। हामी जनतातिर फर्कियौं, अलिअलि मैलो लागेको थियो जनतामाझ पुगेर पखाल्छौं। अनि, ०८४ मा बहुमत ल्याएर सरकार बनाउँछौं।’

स्मरणीय छ, प्रचण्ड जता पनि सरक्क ढल्किन सक्ने आधुनिक नेपाली राजनीतिक भयानक खेलाडी हुन्। उनी कम्युनिस्ट एकता गरी पुर्नोदय गर्ने क्षमता मात्र राख्दैनन् त्यो विभाजनपछि दक्षिणपन्थीसँगको गठजोड बनाउन सक्छन्। यसकारण पपुलिस्ट राजनीतिको बाटोमा प्रचण्डको प्रवेशलाई अन्यथा सोच्नु अनुचित हुनेछ। 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्