सुधार केन्द्रमा कुटपिट हुँदा एक जनाको मृत्यु, ७ जना पक्राउ
काठमाडौं– बाराको कलैयामा रहेको एउटा सुधार केन्द्रमा विवाद भई कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ भने प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नव जन्म पुनस्र्थापना केन्द्रमा कुटपिट हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
कलैया उपमहानगरपालिका–९ का धीरेन्द्र भनिने प्रदीपप्रसाद मण्डलको कुटपिटका कारण मृत्यु भएको हो।
सुधार केन्द्रमा विहीबार राति २ बजे कुटपिट भएको थियो।
मृतक मण्डल सुधार केन्द्रमा१५ दिनअघि भर्ना भएका थिए। सुधार केन्द्रमा भएका अन्य व्यक्तिसँग उनले वादविवाद गरेपछि कुटपिट भएको बताइएको छ।
कुटपिटपछि घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको थियो। अस्पताल लैजानासाथ मण्डल मृत घोषणा गरियो।
कुटपिटमा संलग्न कलैया–३ का १९ वर्षीय सरफराज मन्सुरी, कलैया–४ का २२ वर्षीय निरज सरार्फ, कलैया–६ का २० वर्षीय राहुल भनिने महमद आँशु मिया, कलैया–१ का २४ वर्षीय अरुण सरार्फ, कलैया–२ का २१ वर्षीय प्रमेश्वर साह, कलैया–३ का २९ वर्षीय तमन्ना अली र कलैया–१ का १९ वर्षीय सागर गुप्तालाई प्रहरीले पक्राउ गरेको छ।
मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ। पीडितको उजुरीपछि थप अनुसन्धान सुरु भएको छ।