Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डले माओवादीमा कसलाई देखेका थिए लिन प्याओ, बर्षमान र जनार्दन मध्य को हुन् त?

शनिबार, फागुन ३, २०८१

काठमाडौं– ‘कोही प्रचण्डको ठाउँमा उभिएर नेतृत्व लिन चहान्छ भने लिनुहोस्। म त बरु किताब लेखेर बस्थें’, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघिको विद्यार्थीको सम्मेलनमा भनेका थिए,‘अहँ कोही देख्दिन। छँदै छैन।’

प्रचण्डले यति मात्र भनेनन् पार्टीको उत्तराधिकारीका विषयमा पनि घोषणाका लागि उनलाई दबाब परेको थियो। त्यस सन्दर्भमा भनेका थिए,‘म अहिले माओले जस्तो उत्तराधिकारी घोषणा गर्दिन। माओले लिन प्याओलाई उत्तराधिकारी घोषणा गर्नुभयो तर त्यहि लिन प्याओले माओको हत्याको योजना बुनेको थियो।’

प्रचण्डको यो लगभग एक बर्षअघिको अभिव्यक्ति थियो, प्रज्ञा भवनमा। त्यसअघि विद्यार्थीको सम्मेलनको सोही कार्यक्रममा प्रचण्डलाई चुनौती दिँदै उपमहासचिव जनार्दन शर्माले भनेका थिए,‘जनार्दनले पार्टी फुटाउँछ, पार्टीबाट हिँड्छ भन्ने आरोप लगाइयो। म चुनौती दिन्छु त्यो हेडक्वार्टरबाट नै फैलाइएको हल्ला पुष्टि होस्।’

यसबेला पार्टीको उत्तराधिकारीका रुपमा हेरिएका शर्मा र अर्का उपमहासचिव बर्षमान पुनः एकसाथ थिए। 

अहिले पनि शर्मा मात्रै यस्ता नेता हुन् जसले प्रचण्डलाई आन्तरिक रुपमा चुनौती दिन्छन्। शर्मालाई कमजोर बनाउनका लागि प्रचण्डले उनीनिकट अन्य नेता र भगिनी संगठनका प्रमुखलाई आफूनिकट तानिसकेका छन्। 

उनले त्यसबेला शर्मालाई नै लिन प्याओको संज्ञाका रुपमा संकेत गरेको धेरैको बुझाई थियो। 

आखिर ति लिन प्याओ को थिए? 

लिन प्याओ चीनको सांस्कृतिक क्रान्तिका विवादास्पद नेता थिए। 

लिन प्याओ चिनियाँ कम्युनिस्ट नेता तथा सैन्य कमाण्डर थिए, जसले चीनको जनमुक्ति सेनामा महत्वपूर्ण भूमिका खेले। उनको जन्म सन् १९०७ मा चीनको हुबेई प्रान्तमा भएको थियो। 

उनी चीनको गृहयुद्धका दौरान माओत्सेतुङका निकटतम सहयात्रीहरू मध्य एक थिए र १९४९ मा जनवादी गणराज्य चीन स्थापनामा ठूलो योगदान गरे।

लिन प्याओले १९२५ मा हुआंगपु सैन्य एकेडेमीमा अध्ययन गरे, जहाँ उनी उत्कृष्ट विद्यार्थीमध्ये एक बने। 

उनले १९२७ को ग्वाङ्गझाउ विद्रोहमा भाग लिएका थिए। पछि, चीनको गृहयुद्धमा उनी एक सफल सैन्य कमाण्डरको रूपमा उदाए। 

सन् १९४९ मा जब चीनमा कम्युनिस्ट शासन स्थापित भयो, उनले जनमुक्ति सेनाको पुनर्गठनमा महत्त्वपूर्ण भूमिका खेले।

सन् १९६६ मा सुरु भएको सांस्कृतिक क्रान्तिको समयमा, लिन प्याओ माओत्से तुङका विश्वासपात्र व्यक्ति बने। 

उनले माओको विचारधारालाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेले। रेड गाड्र्स (रातो सेना) लाई समर्थन गरेर उनले माओको ‘रातो किताब’को प्रचार गरे।

सन् १९६९ मा लिन प्याओलाई चीनको संविधानमा माओको उत्तराधिकारी को रूपमा घोषणा गरियो। यो उनको शक्तिशाली राजनीतिक हैसियतको प्रमाण थियो। तर, माओलाई शंका थियो कि लिनले उनलाई अपदस्थ गर्ने षड्यन्त्र गरिरहेका छन्।

सन् १९७१ मा लिन प्याओमाथि माओलाई हटाउने षड्यन्त्रमा संलग्न भएको आरोप लाग्यो। उनले माओको हत्या गर्ने योजना बनाएको भन्ने दाबी गरियो। 

जब उनको योजना असफल भयो, उनी सोभियत संघतर्फ भाग्ने प्रयासमा थिए। तर, उनको विमान मङ्गोलियामा दुर्घटनाग्रस्त भएर मृत्यु भयो। 

उनको मृत्यु अझै पनि रहस्यपूर्ण छ। कतिपय इतिहासकारहरू भन्छन् कि विमान ईन्धन अभावका कारण खसेको थियो, भने अन्यले भन्छन् कि उनलाई चीन सरकारले मारिदिएको थियो।

अब प्रचण्डले पनि माओवादीभित्र विश्वास गर्ने पात्र नभेटेका हुन् त? उनलाई अझै पनि आफूविरुद्ध पार्टीमा कसैले षडयन्त्र गरेको गन्ध आइरहेको उनी सन्निकट नेताहरूको दाबी छ। 

यसैकारण पनि उनले आफ्ना परिवारका सदस्यसहितलाई निकट र सचिवालयमा प्रमुख भूमिका दिएर राखेका छन् भने दुई लाइन संघर्षमा कहिले यता र उता खेल्ने रणनीति निरन्तर गरिरहन्छन्।

यसैबीचमा उनले रामबहादुर थापा बादलको समूह माओवादीमा मिसिएका अन्य नेतालाई जिम्मेवारी दिने गरेका उदाहारण छन्। महासचिवमा शर्मा र पुनःको चर्चा चलिरहँदा उनले त्यसबेला देव गुरुङलाई ल्याएका थिए।
 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्