पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, देशभरको मौसम बदली
काठमाडौं- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर बादल लागेको छ । यसको प्रभावले पहाडी जिल्लाहरुमा पानी पर्ने सम्भावना रहेको मौसमविदहरु बताउँछन् । उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना पनि छ ।
पश्चिमी वायुको प्रभाव शुक्रबार रातिदेखि नै नेपालमा परेको छ । त्यसैले बादल लागेर राम्रोसँग घाम लागेको छैन । गत २४ घण्टायता गण्डकी प्रदेश र कोशी प्रदेशका एक–दुई स्थानमा पानी परिरहेको छ । सुदूरपश्चिमको डडेलधुरा तथा कैलालीका बचिला र बलिया केन्द्रमा फाटफुट वर्षा रेकर्ड भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद बिनु महर्जनले आज सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी जिल्लाका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिइन् । यसैगरी उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको पनि उनले बताइन् ।
काठमाडौं उपत्यकामा आज बिहानैदेखि बादल लागेको छ । तर वर्षाको सम्भावना भने न्यून रहेको मौसमविद महर्जनले बताइन् ।
आइतबारदेखि भने मौसममा सुधार आउने छ । पहाडी भूभागमा भने बादल रहिरहने सम्भावना छ ।
आगामी विहीबारदेखि फेरि पश्चिमी वायुको प्रभाव पर्ने सम्भावना रहेको मौसमविदहरु बताउँछन् ।