हिलियम ग्यास नभरेर बेलुनमा किन भरियो हाइड्रोजन ग्यास ?
काठमाडौँ- शनिबार अर्थमन्त्री विष्णु पौडेल सहभागी पोखरा भ्रमण वर्षको उद्घाटन क्रममा बेलुन उडाउने क्रममा अर्थमन्त्री र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भए ।
भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा झिर्झिरे क्यान्डिलको झिल्का परेर उक्त दुर्घटना भएको पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले बताएका छन् ।
उक्त दुर्घटनमा घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई प्राथमिक उपचारका लागि गण्डकी अस्पताल लगिएको थियो । पछि थप उपचारका लागि हेलिकप्टमार्फत काठमाडौँ ल्याइएको छ ।
अहिले दुवै जनाको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइहेको छ । दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ। अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले दुवै जनाको ५–६ प्रतिशत शरीर जलेको जानकारी दिएका छन् । तर, अनुहारमा जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेको उनले बताए । उनीहरूलाई उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने आवश्यकता देखिएको पनि उनले जानकारी दिए ।
दुवै जनाको उपचारमा प्राडा विडी झा, डा. प्रवीण गिरीलगायत छन्। त्यस्तै प्राडा शंकरमान राई, विशाल कार्की, मनीष यादव लगायत जलन विशेषज्ञ टोली र डा. प्रयुस अर्याल लगायत आकस्मिक उपचार टोलीले मन्त्री पौडेल र मेयर आचार्यको उपचार गरिरहेका छन् । यसैगरी रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ टोली पनि उपचारमा संलग्न छ ।
सामान्यतया बेलुनमा हाइड्रोजन लिलियम र तातो हावा भर्ने गरिन्छ । तर, पोखरामा पड्किएको बेलुनमा हाइड्रोजन ग्यास भरिएको बताउँछन् रसायन शास्त्र केन्द्रीय विभागका सहप्राध्यापक अच्युत अधिकारी ।
नेपाल केमिकल व्यवसायी महासंघका महासचिवसमेत रहेका अधिकारी सुरक्षाका हिसाबले बेलुनमा हिलियम ग्यास भर्नुपर्ने बताउँछन् । ‘तर पोखराको केसमा हिलियम ग्यास नभरेर हाइड्रोजन ग्यास भरिएको देखिएको छ । हाइड्रोजन ग्यासमा आगो लाग्छ, हिलियममा लाग्दैन । त्यसरी ब्लाष्ट हुने हाइड्रोजन नै हो,’ उनले भने, ‘सस्तो हुने र धेरै माथिसम्म उड्ने भएकाले हाइड्रोजन ग्यास भर्ने गरिन्छ । हाइड्रोजनको तुलनामा हिलियम ग्यास धेरै महँगो हुन्छ ।’
आगामी दिनमा यस्तो ग्यास भरिएको बेलुन प्रयोग गर्दा सचेत हुनुपर्ने उनले बताए । हाइड्रोजन ग्यास भएको बेलुन आगोमा पर्दा पड्किने उनको तर्क छ ।
पोखराको उक्त कार्यक्रमस्थलको सजावट ५-६ वर्षदेखि गरिरहेको कम्पनीले नै गरेको पोखरा महानगरका प्रवक्ता तिम्सिना बताउँछन् ।