बलात्कार घटना मिलाउन पञ्चहरूले पीडितलाई धम्की दिएपछि किशोरीद्वारा आत्महत्या
काठमाडौं– सिरहाको नवराजपुर गाउँपालिका–१ मा एक बलात्कार पीडित किशोरीले पञ्चायतबाट न्यायको साटो धम्की पाएपछि आत्महत्या गरेकी छन्।
मधेसमा कुनै पनि घटनाको प्रारम्भिक न्यायका लागि गाउँका भद्र भलाद्मीका नाममा ‘पञ्चायती’ राखेर छलफल गराउने प्रचलन छ। यहि क्रममा भगवतीपुर तामासुइयाकी किशोरीले न्याय माग गर्दा कानुनी प्रक्रियामा जाने वा न्याय दिने भन्दा पनि पीडकलाई कारबाहीको साटो एक लाख ४० हजार रुपियाँ दिएर घटना सामसुम पार्न पञ्चहरुले निर्णय गरेका थिए।
किशोरीकी आमाका अनुसार पञ्चहरुले घटना बाहिर लगे समस्यामा पर्ने भन्दै किशोरीलाई धम्काएका थिए। पञ्चहरुले आफ्नी छोरीलाई न्याय नदिएको र आरोपीहरुबाट १ लाख ४० हजार रुपैयाँ जरिवाना तिर्ने निर्णय दिएकै भोलीपल्ट आत्महत्या गरेको आमाले बताइन्।
घटना माघ २६ गतेको हो। १७ वर्षीया रिंकुकुमारी सदायमाथि सामूहिक बलात्कार भएको थियो। शौचालय गएकी उनलाई तीन युवाले अपहरण शैलीमा उठाएर लगेर सामूहिक बलात्कार गरेका थिए।
बलात्कारपछि ती युवाहरुले अचेत रिंकुलाई राति करिब ३ बजे घर लगेर छाडेको पीडित परिवारले जनाएका छन्।
उनले भोलिपल्टै छरछिमेकलाई घटनाबारे जानकारी दिए टोलमै पञ्चायत बसेको थियो। पञ्चायतमा आरोपीहरु टिंकु मण्डल, चन्दन साह र रमेश मण्डल तथा तीनै जनाका अभिभावकहरुलाई पनि बोलाइएको थियो।
घटनालाई अगाडि नबढाउन गाउँका सबैले दबाब दिएको किशोरीकै भाउजूले बताइन्।
त्यस्तै मृतक किशोरीको शव धरानमा अलपत्र परेको छ। घटनास्थलबाट सोही दिन प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल लगिएको थियो।
पीडित परिवारले सामूहिक बलात्कार भएकाले विस्तृत अनुसन्धान गर्न प्रहरीसमक्ष माग गरेको छ। त्यसपछि प्रहरीले शव पोष्टर्माटमका लागि धरान पठाएको छ। तीन दिन भइसक्दा पनि शव परिवारले बुझेको छैन।
घटनाका आरोपीहरुलाई प्रहरीले अहिलेसम्म पक्राउ नगरेको भन्दै पीडित परिवारले गुनासो गरेका छन्। उनीहरुले बलात्कार मुद्दा लगाउनुपर्नेमा प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरेको भन्दै आपत्ति जनाएका छन्।
‘बलात्कारको मुद्दा त लाग्छ नै पञ्चायतीमा बस्नेलाई पनि आत्महत्या दुरुत्साहनको मुद्दा लगाइनुपर्छ’, पीडितका आफन्त भन्छन्,‘कारबाही गरिनुपर्छ।’