अध्यादेशमा अड्कियो सरकार, एक साता पछाडि धकेलिनुको कारण
काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का कारण सरकारले ल्याएको अध्यादेश सदनमा पेश गर्नका लागि सरकारलाई सकस परेको छ।
अध्यादेश पारित गराउनका लागि सकस पर्ने भएपछि यो एक सातापछि धकेलिएको छ। जबकि, अध्यादेश पारित गराउनका निम्ति सत्तारुढ ७ दलको बैठक शनिबार र आइतबार प्रमुख सचेतकहरुको बैठक बसेको थियो।
विभिन्न अध्यादेशहरू संसदीय प्रक्रियामा अगाडि बढ्ने प्रक्रिया थप लम्बिने भएको छ।
प्रतिनिधि सभाको बैठक आइतबार, सोमबार र मंगलबार लगातार बस्दैछ। यी तीनवटै बैठकमा अध्यादेश अगाडि बढाउने कार्यक्रम नराखिने भएको छ।
त्यसपछि प्रतिनिधि सभाको अर्को बैठक यही फागुन ११ गतेका लागि राख्ने गरी प्रतिनिधि सभाको सम्भावित संसदीय क्यालेन्डर तयार भएको छ। फागुन ११ गते प्रतिनिधि सभामा अध्यादेश अगाडि बढाउने गृहकार्यमा सत्तारुढ दलहरू रहेका छन्।
एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार संसद्मा टेबुल भएका अध्यादेशबारे केही छलफल भइरहेका छ्न्।
कुन दिन संसद्मा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने भन्ने ठ्याक्कै तय भएको छैन।
आइतबार, सोमबार र मंगलबारको प्रतिनिधि सभाको बैठकमा भने अगाडि बढाउन तयारी नपुग्ने उनले बताए।
मन्त्रिपरिषद्को सिफारिसमा गत १४ पुसमा राष्ट्रपति रामचन्द्र पौडेले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए।
२९ पुसमा थप चारवटा अध्यादेश जारी भएको थियो।