काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन थालेका छन्।प्रधानमन्त्रीलाई सबैभन्दा पहिलो प्रश्न नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्वमन्त्री प्रकाश ज्वालाले गरेका छन् ।ज्वालाले प्रधानमन्त्री ओलीको अघिल्लो कार्यक्रममा शिलान्यास गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरु र पालिका अस्पतालको प्रगति हुन नसकेकोबारे प्रश्न गरेका थिए ।
प्रश्न थियो, ‘तपाईले तामझामका साथ शिलान्यास गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरु बजेटको अभावमा अलपत्र छन् भने पालिका अस्पतालहरु कतिका जग मात्र र कतिका पिलर मात्रै अस्थिपञ्जर जस्तै ठडिएका छन् । तिनीहरुका लागि बजेट व्यवस्था गरेर काम सम्पन्न गर्ने योजना के छ ?’
जवाफमा प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा शिलान्यास गरे लगत्तै आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताए । आफूपछिका सरकारहरुले ती परियोजनाहरुलाई निरन्तरता नदिएको उनको गुनासो थियो । उनले पूर्वमन्त्री ज्वालालाई इंगित गर्दै आफू भौतिक योजनामन्त्री हुँदा किन काम गर्नु भएन भनेर प्रतिप्रश्न गरेका छन् ।
उनले सरकारले सडक पूर्वाधार विकासलाई महत्त्व दिएर सोहीअनुसार बजेट विनियोजन गरिरहेको पनि ओलीको भनाइ छ । त्यसैगरी, नागढुङ्गा सुरुङमार्ग २०८२ कात्तिकमा सक्ने लक्ष्य रहेकोमा हालसम्म ८५ प्रतिशत प्रगति भइसकेको उनले बताए । अहिले सुरुङमा आवश्यक पर्ने लाइटिङ, भ्यान्टिलेसनहरू निर्माणको काम भइरहेको पनि ओलीले जानकारी गराए । यसैगरी राप्ती लोकमार्गमा ६० करोड बराबरको स्रोत सुनिश्चित गरी निर्माण कार्य अगाडि बढाइँदै गरेको पनि बताए ।
ओलीको जवाफ यस्तो थियो
‘निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पताल निर्माणको सुरुवात मैले अघिल्लो कार्यकालमा गरेको थिएँ, तर केही समयपछि नै सरकार परिवर्तन भएर म बाहिरिएँ । त्यसपछि आउने सरकारले ती कार्यक्रमहरु रद्द गरे, निरन्तरता दिएनन् । निर्माण रोकियो । प्रश्नकर्ता माननीय पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधारमन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ ।
कार्यक्रम रद्द गर्नेले नै फेरि किन पूरा भएन भनेर प्रश्न गर्ने, प्रगति खोज्ने बडो अनौठो संस्कार छ यहाँ । उपरोक्त सबै अस्पताल र सडक निर्माण सम्पन्न गर्न ठूलो बजेट अवश्यक पर्छ । केही संख्यामा सम्पन्न भएका छन् । केही उद्घाटन भएर सुचारु भइसकेका छन् । उपलब्ध स्रोत र साधनलाई ध्यान दिई बाँकी सडक र अस्पताल प्राथमिकतापूर्वक निर्माण भइरहेका छन् ।