नेभिगेशन
मनोरञ्जन

नेपाली फिल्मका दुखः आफैं खोज्छन् जोरी अनि कहाँबाट उठ्छ लगानी?

काठमाडौं– नेपाली फिल्मका निर्माता अहिले थाप्लो, कन्पारोमा हात राखेर बस्ने स्थिति बनेको छ। एकअर्कासँगको अस्वस्थ्य प्रतिस्पर्धाका कारण यस्तो अवस्था आएको प्रष्ट देखिन्छ। 

सानो र मध्यम खालको नेपाली फिल्म उद्योगमा प्रतिस्पर्धाचाहिँ बलिउडभन्दा पनि भयानक हुने गरेको पाइन्छ। 

एक महिनामा बलिउडमा पनि नौ वटा फिल्म रिलिज हुने गरेको छैन। 

तर यस फागुनमा भने नेपाली फिल्म ९ वटा रिलिजको क्यालेन्डर छ। त्यहाँमाथि नेपाली सिनेमा हलमा बलिउड फिल्मले पनि उत्तिकै स्क्रिन पाएका छन्। 

यसो हुँदा नेपालीले स्क्रिन पाउने सम्भावना न्यून हुँदा गरिएका लगानी बालुवामा पानी हुने चरणमा छन्।

फिल्म हुन् ‘दुखी आत्मा’, ‘रंगी’, ‘मायाबी’ रिलिज भएका छन्। अबको चरणमा ‘फेरि रेशम फिलिलि’, ‘लाज शरणम्’, ‘ताण्डबम्’, ‘आउट लः दफा २१९’, ‘होस्टल ३’, ‘अञ्जिला’ लगायत छन् । 

फागुनमा कुनै शुक्रबार एउटा मात्र फिल्म रिलिजमा छ, भने कुनै शुक्रबार दुई र तीन वटा फिल्म छन्। फागुनको अन्तिम दिन २९ गते बिहीबार पनि दुई फिल्म रिलिज तयारीमा छन्। 

यो महिना रिलिज हुने ९ मध्ये २ फिल्म पहिले हिट भएका फिल्मका सिक्वेलसमेत छन्।

फागुनको पहिलो साता शुक्रबार अर्थात् २ गते फिल्म ‘दुखी आत्मा’ र ‘रंगी’ भिडेका छन्। 

त्यसपछिको साता शुक्रबार फागुन ९ गते एक मात्र फिल्म ‘ताण्डबम्’ लाग्दैछ। 

तेस्रो साता भने शिवरात्रिको अवसर पारेर १४ गते बुधबार तीन फिल्म ‘मायाबी’, ‘फेरि रेशम फिरिरि’, ‘लाज शरणम्’ एक–अर्काेसँग भिड्न तयार छन्। 

चौथो साता २३ गते एक मात्र फिल्म ‘होस्टल ३’ आउँदैछ। फागुनको अन्तिम दिन बिहीबार भने दुई फिल्म ‘आउट लः दफा २१९’ र ‘अञ्जिला’ रिलिज तयारीमा छ।

यस्तो अस्वस्थ्य प्रतिस्पर्धाका कारण नेपाली फिल्ममा गरिएका लगानी खेर जान सक्ने आँकलन स्वभाविक रुपमा गर्न सकिन्छ। 

यो बर्षको पीडा मात्र होइन, अघिल्लो बर्ष पनि यस्तै भएको थियो, फागुनमा।

यस पटक मात्र यस्तो भएको होइन। अघिल्लो बर्ष ०८० सालको फागुनमा पनि यस्तै नै भएको थियो।

०८० फागुन महिनामा भने फिल्म रिलिजको बाढी नै देखियो। एक महिनामा मात्र ६ वटा नेपाली फिल्म प्रदर्शन भए।

नेपाली वक्सअफिसमा ‘महाजात्रा’को सुखद् कमाइका समाचारहरु सार्वजनिक भइरहँदा फागुन महिनामा रिलिज भएका ६ सिनेमामा ६ नै सिनेमा वक्सअफिसको भाषामा भन्नु पर्दा फल्प भएका छन्।

फागुन ४ मा रिलिज भएको ‘जिग्री’ जुन रफ्तारमा रिलिज भयो सोही रफ्तारमा सिनेमा हलबाट गायब भयो। आकाश मगर निर्देशित सिनेमा दुई दिन पनि हलमा टिकेन। यो सिनेमामा अत्तो न पत्तो शैलीमा एकाएक रिलिज भएको थियो।

‘जिग्री’ पश्चात फागुन ११ मा मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’ प्रदर्शन भएको थियो। फिल्मले करिब ५५ लाख मात्र ग्रस कलेक्सन गरेको रिपोर्ट थियो। 

रिलिजका केही दिनमा सिनेमाले कमाइ गर्ने सम्भावना देखाएको थियो। हलिउड फिल्मको प्रिमियर हुने गरेको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा सिनेमाको भव्य प्रिमियर भएको थियो। 

नेपालमा पनि लाहुरे समुदायको सहयोगमा प्रचारका विभिन्’न तामझाम गरिएको भएपनि सिनेमाले वक्सअफिसमा तामझाम गर्न सकेन। 

यस्तै हालत फागुन १८ गते प्रदर्शनमा आएको सौरभ चौधरी निर्देशित फिल्म ‘अगस्त्य’को भयो। झण्डै चार करोड लगानी रहेको दाबी गरिएको सिनेमाले प्रदर्शनको चौंथो सातासम्म आइपुग्दा २ करोड ३५ लाखमाथि ग्रस कलेक्सन गरेको बताइन्छ। 

यो सिनेमालाई लिएर ठूलै आशा रहेको भएता पनि ‘न्यारेटिभ स्टाइल’ तथा सम्पादनमा मार खाँदा सिनेमा वक्सअफिसमा चुक्यो।

यसैगरी फागुन २५ गते एकसाथ तीन सिनेमा ‘उपहार’, ‘रंगेली’ र ‘काँडेतार’ रिलिज भए। 

यी सबै सिनेमा फ्लप भए। दयाहाङ राई र मिरुना मगरको हिट जोडीले ’रंगेली’लाई वक्सअफिसमा गति दिन सकेन भने तीन महिला अभिनेत्रीलाई केन्द्रीय भूमिकामा पेस गरेको ’उपहार’ले कमाल देखाउन सकेन। पहिलो हाफमा कमेडीले खुबै हसाएको रेखा थापा, पूजा शर्मा तथा वेनिशा हमालको यो सिनेमाले दोश्रो हाफमा पटकथाको लय गुमाउँदा दर्शक आकर्षित गर्न सकेन। 

‘झिंगेदाउ’ निर्देशक ज्ञानेन्द्र देउजाको यो सिनेमाले बलियो स्टारकास्टका बाबजुत व्यापार गर्न सकेन। यस्तै चेपुवामा पारिएको, हेपिएको भन्दै ‘काँडेतार’लाई निर्माताले दुई दिनमै हलबाट उतारे। यसरी फागुनका महिना नेपाली सिनेमाको वक्सफिस सुनसान हुनपुग्यो।  

यस बर्ष भने नेपालमा पूर्णबहादुरको सारङ्गीले रेकर्ड कायम गरेको छ। यसअघि चाडवाडको अवसर पारेका बेहुली फ्रम मेघौली, छक्का पञ्जा ५, १२ गाउँ, ज्वाँई साहबसम्मले लगानी उठाउन सफल भए। तर, फागुनमा रिलिज भएका र उपक्रममा रहेका फिल्मका लागि भने सुखद खबर आउनेमा शंका छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन