नेत्र विशेषज्ञ कांग्रेस पूर्वमहामन्त्री शशांकले नदेखेको शेखर समूहको बाटो, कहाँ चुके कोइरालाहरू?
काठमाडौं– नेपाली कांग्रेसको स्थापना कालदेखि नै कोइराला परिवार र बिरासत हावी थियो। तर सुशील कोइरालाको निधनसँगै यो बिरासतको उत्तराधिकारी भने कांग्रेसभित्रकै प्रतिपक्षी समूह बनेर बसिरहेको छ।
यसका प्रमुख दुई कारण छन्– कोइराला बिरासत जोगाउन दोस्रो पुस्ता एक ठाउँमा नउभिनु र आफ्नो समूहलाई सशस्त्र बनाउने रणनीति तय नगर्नू।
यसै साता सभापति शेरबहादुर देउवाले डाकेको बैठकमा पुगे वीपीपुत्र डा. शशांक कोइराला।
यसअघि पनि उनी देउवाको खेमामा लागेका थिए जसको सानो तिनो प्रभाव सभापतिमा उठेका दाजु डा. शेखर कोइरालालाई परेको थियो।
यो प्रभावको विषयमा अघिल्लो पटक प्रकाशमान सिंहको क्याम्पमा रहेकी बहिनी सुजाता कोइरालाले जानकारी पाइन्। र, अहिले शेखरको पक्षमा उभिएर उनले भनिसकेकी छन्,‘अब शेखर दाईलाई सभापतिमा सघाउनुपर्छ। उहाँ नै हो, सभापति।’
तर नेत्र विशेषज्ञ शशांकले भने दाजु शेखरको समूहतिर लाग्ने बाटो अहिलेसम्म पहिल्याउन सकेका छैनन्।
वीपी पुत्रका रुपमा नै कांग्रेसमा स्पेश र चुनावमा निरन्तर जित निकालेका शशांकले पारिवारिक बिरासत जोगाउनका लागि शेखरसँग राजनीतिक वार्ता गरेका छैनन्।
शेखरनिकट एक नेता भन्छन्,‘पार्टीको महामन्त्रीसम्म भइसकेको मानिसले दाजुपछिको उत्तराधिकारी बन्छु भन्ने लय पनि समात्नुपर्छ। तर, उहाँ मन्त्री या अन्य अवसरका लागि मात्र हिँडिरहेको छ अनुभूति हुन्छ।’
यसो त १३औं महाधिवेशनपछि नै कोइरालाहरू कृष्ण सिटौलासहित एक खेमामा उभिने सहमति भएको थियो। तर १४औं महाधिवेशनमा आउँदा तीन कोइराला तीनतिर बाँडिएका थिए।
शशांक देउवातिर ढल्किए भने सुजाता प्रकाशमान र शेखर आफ्नै समूह बनेर अगाडि बढे।
पहिलो राउन्डमा सभापतिमा निर्वाचित हुन नसकेका शेरबहादुर देउवालाई पराजित गर्नका लागि सुजातासहित शशांक दोस्रो राउन्डमा सक्रिय हुन सक्ने थिए। तर, त्यो तदारुकता पनि देखाएनन्।
‘सांसद र मन्त्री पदको लोभमा आफ्नै दाईको समूहइतरमा सक्रिय भएका थिए। अब १५औं महाधिवेशनमाचाहिँ चेत खुल्छ कि?’, कोइरालानिकट स्रोतले भन्यो,‘त्यो पनि हेर्न बाँकी छ।’
अबको महाधिवेशनमा शेखर आफैं सभापतिमा उठ्ने अभियानमा लागि सकेका छन्। यता सभापति देउवाले पनि महाधिवेशन केन्द्रित विषयमा आफ्ना खेमाका नेतासँग छलफल चलाइरहेका छन्।
यस्तो बेलामा कांग्रेसको बिरासत बोकेका कोइराला परिवारका दाजु भाई बहिनीचाहिँ छलफलमा जुटेकोसम्म देखिएको छैन।