चोरेको सुनमा विवाद भएपछि दैलेखमा आफ्नै साथीहरूले हत्या गरेर गाडिदिए ११ बर्षिय बालकको शव
काठमाडौं– चोरी गरी ल्याएको सुनको तिलहरी बेच्ने र बाँडफाँटका विषयमा विवाद हुँदा आफ्नै साथीहरुले दैलेखमा एक बालकको हत्या गरी शव गाडेको अवस्थामा प्रहरीले फेला पारेको छ।
दुल्लु नगरपालिका–५ घर भएका शमबहादुर दशौंदीका ११ वर्षीय छोरा खेमराज दशौंदीको हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
गत माघ २५ गते हराएका ति बालकको शव आफ्नै साथीहरुले हत्या गरेर गाडेको अवस्थामा बाँसघारीमा शनिबार प्रहरीले फेला पारेको थियो।
सम्पर्कबिहीन भएका बालकलाई खोजी गरिदिन अभिभावकले माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए।
अनुसन्धानको क्रममा उनीसँगै रहेका साथीहरुले हत्या गरेको पत्ता लागेको प्रहरीको भनाइ छ। हत्यामा संलग्न भएको आशंकामा प्रहरीले २ बालकलाई पक्राउ गरेको छ। चोरी गरी ल्याएको तिलहरी विक्रि गर्ने विषयमा विवाद भएपछि हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ।
यहीँ फागुन ३ गते प्रहरी टोली घटनास्थलमा पुगेर खाल्डो खनेर उनको शव निकालेको हो।
उनीहरुविरुद्ध जिल्ला अदालत दैलेखबाट म्याद थप गरेर अनुसन्धान जारी राखेको प्रहरी निरीक्षक सुनारले बताए।