Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारत भ्रमणबारेको उत्तर नदिन प्रधानमन्त्री ओलीले प्रभु साहको प्रश्न छलेका हुन्?

सोमबार, फागुन ५, २०८१

काठमाडौं– संसदमा सबै प्रकारका प्रश्नको जवाफ तोडले दिने प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनता पार्टीका अध्यक्ष प्रभु साहको प्रश्नको उत्तर नदिई कार्यक्रम सकेका थिए, सदनमा।

साहको प्रश्न मध्यमा भारत भ्रमणको मितिबारे पनि सोधिएको थियो।

आफ्नो भारत भ्रमणबारे सोधिएको प्रश्नको जबाफ नदिई प्रधानमन्त्री केपी ओलीले संसद्मा प्रश्नोत्तर सकाएका थिए।

आइतवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर राखिएको थियो।

पूर्वनिर्धारित कार्यसूची अनुसार १० जना सांसदहरूले दर्ता गराएका प्रश्नको जबाफ दिन प्रधानमन्त्री ओली रोष्ट्रममा उक्लिएका थिए।

साहले वैदेशिक रोजगारीमा रहेका युवाहरूको समस्या देखि राजधानी जोड्ने सडकमार्गको दुरावस्था लगायतका विषयमा आठ वटा प्रश्न प्रधानमन्त्रीलाई सोधेका थिए।

उनको पाँचौँ प्रश्न प्रधानमन्त्रीको भारत भ्रमणबारे थियो।

‘तपाईँले सार्वजनिक रूपमा भारत भ्रमणमा जाँदै छु भन्नुभएको थियो, त्यो जाँदै छु भनेको कहिले हो? निम्तो नै नआईकन किन जान्छु भन्नुभयो? यसले देशको प्रतिष्ठामा आँच आएको अनुभूति हुँदैन?’ साहले प्रधानमन्त्री ओलीलाई सोधे।

गत असारमा प्रधानमन्त्री भएका ओली उत्तरी छिमेकी चीन भ्रमणमा गए पनि दक्षिणी छिमेक भारतको भ्रमणमा गएका छैनन्।

यसबारे राजनीतिक वृत्तमा चर्चा चलिरहँदा गएको मङ्सिर २३ गते दमकमा सरकारी लगानीमा बनेको व्यापारिक कम्प्लेक्स उद्घाटनका लागि पुगेका ओलीले आफ्नो भारत भ्रमणको योजना सुनाएका थिए।

तर आइतवार ओलीले सांसद साहले सोधेका भारत भ्रमणसहित कुनै पनि प्रश्नको जबाफ दिएनन्।
 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्