Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतको केआईआईटीमा नेपाली विद्यार्थी लम्साल मृत्यु प्रकरणः दुई प्लाटुन प्रहरी खटाइयो

सोमबार, फागुन ५, २०८१

काठमाडौं– भारतको कलिंगा एन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत बुटवलकी प्रकृति लम्सालको मृत्युले तनाव उत्पन्न गरेपछि अन्य नेपाली विद्यार्थीलाई घर पठाइएको भारतीय मिडियाले जनाएका छन्।

नेपाली विद्यार्थीहरूले सत्यतथ्य छानबिन गर्नका लागि भनेपछि विश्वविद्यालयले क्याम्पस खाली गर्न भनेको फ्रि प्रेस जर्नलले जनाएको छ। 

जर्नलका अनुसार लम्सालको मृत्युलाई लिएर केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूमा हल्का तनाव भएको हुनाले विश्वविद्यालयका अधिकारीहरूले आन्दोलनरत विदेशी विद्यार्थीहरूसँग छलफल गरेका थिए। 

‘परिस्थितिलाई ध्यानमा राख्दै, नेपाली विद्यार्थीहरूलाई आ–आफ्नो घर पठाइएको छ। हाल स्थिति शान्त रहेको छ’, केआईआईटीलाई उदृत गरी जर्नलले लेखेको छ।

क्याम्पस सुरक्षाका लागि दुई प्लाटुन प्रहरी खटाइएको छ। एक प्लाटुनमा ३० प्रहरी हुने व्यहोरा पनि सार्वजनिक गरिएको छ। कम्तिमा ६० जना प्रहरी खटाइएको छ।

प्रहरीले मृतकको कोठा सिल गरेको छ र उनका अभिभावक नआउन्जेल शवगृहमा राखेको छ।

ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत लम्साल मृत भेटिएकी थिइन्।

कलेजले जारी गरेको विज्ञप्तिमा ‘उनी केआईआईटीमै अध्ययनरत एक विद्यार्थीसँग प्रेम सम्बन्धमा थिइन् भन्ने शंका छ। त्यहीसँग सम्बन्धित केही कारणले आत्महत्या गरेको हुनसक्छ’ भन्ने उदृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन्।

ओडिसाको पत्रिका संवादको अंग्रेजी संस्करणले भने उनी आफ्नो पुरुष साथीबाट दुव्र्यवहारमा परेको जनाएको छ। उक्त पत्रिकाले मृत्युको यकिन कारण नखुलेको पनि दाबी गरेको छ।

यही बीचमा सामाजिक सञ्जाल एक्समा एउटा थ्रेड भाइरल भएको छ, जसमा उनलाई  एक जना व्यक्तिले दुव्र्यवहार गरेर शहर छाडेर भाग्न लागेको भनिएको छ।

अहिले प्रदर्शन गर्न खोज्ने विद्यार्थीहरुलाई समेत सुरक्षागार्ड र होस्टलका वार्डेनहरु प्रयोग गरेर दबाउन खोजिएको भनिएको छ।

प्रदर्शन बढ्दै गएपछि कलेजमा प्रहरी परिचालन गरेर स्थितिलाई साम्य पारिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्। लम्सालको शवलाई पोष्टमार्टमका लागि क्यापिटल अस्पताल पठाइएको छ।

नेपाली विद्यार्थीहरूलाई अहिले प्रशासनले स्थिति सामान्य नभएसम्मका लागि विदा बस्न भनिएको छ।

संवाद इङ्लिस अनलाइनले भने अद्विक श्रीवास्तव नामका व्यक्तिलाई उनकी प्रेमिका प्रकृति लम्सालको आत्महत्याबाट भएको कथित मृत्युको सम्बन्धमा प्रहरीले पक्राउ गरेको उल्लेख गरेको छ।
 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्