८ सय बिघा जग्गा लुट्ने नेताको नाम आगामी बैठकमा सार्वजनिक गर्छु : मनीष झा
काठमाडौ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले जनकपुरको ८ सय बिघा जग्गा अपचलन गर्ने दलका नेताहरूको नाम सार्वजनिक गर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद झाले आगामी बैठकमा कुन दलका नेताले कति जग्गा लुटे भनेर सार्वजनिक गर्ने बताएका हुन् ।
‘१४ सय बिघा जग्गा दिएर जनकपुर पुनर्निर्माण गरियो । त्यसपछि ७२ कुण्ड र ५२ कुटी शहरको रूपमा परिचित भयो । तर अहिले १४ सय बिघामा २ सय बिघा मात्रै बाँकी छ ।
पुराना दलका सबै नेता, त्यहाँका स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलाल, सबै मिलेर १२ सय बिघा जग्गा लुटिसके,’ झाले दाबी गर्दै भने, ‘यस सम्बन्धमा पटकपटक संसदमा आवाज उठाउँदा पनि सुनुवाइ भएन ।
विभिन्न चरणमा हामी सरकारमा हुँदा केही कमिटी बनाएर प्रतिवेदनमा काम गरेका थियौं । वर्तमान सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु । म आफैं पनि काम गर्दैछु । आगामी बैठकमा कुन-कुन नेताले कति कति जग्गा लिएको छ जानकारी लिएर उपस्थित हुन्छु ।’