कुम्भ मेलाबाट फर्किदै गरेका दम्पतीसहित तीन नेपालीको गाडी दुर्घटनामा मृत्यु
काठमाडौं - भारतमा चलिरहेको कुम्भ मेलाबाट तीर्थयात्री लिएर फर्किएको गाडी दुर्घटना हुँदा दम्पतीसहित तीन नेपालीको मृत्यु भएको छ । दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका–९ का ४५ वर्षका गणेश खनाल, उनकी श्रीमती ३५ दीपा खनाल र ४० वर्षीया गीता शर्माको मृत्यु भएको देवदह नगरपालिका–९ का सूचना अधिकारी गणेश डुम्रेले जानकारी दिएका छन् ।
कुम्भमेलाबाट फर्किदै गर्दा भारतको उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो । दुर्घटनामा परी सवारी चालकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा देवदह–९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे छन् ।
युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय नम्बरको गाडी दुर्घटनामा परेको हो । फागुन ३ गते देवदहबाट कुम्भमेला स्नान गर्न ५ वटा गाडीमा ३५ जना भारत गएका थिए । नेपाल फर्किने क्रममा चालकसहित ८ जना सवार उक्त गाडी दुर्घटना परेको हो ।