फिल्म ‘ह्रस्व दीर्घ २’ बनाउने तयारीमा नीता
गत कात्तिक ३० गते प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ले घरेलु बक्स अफिसमा सन्तोषजनक व्यापार गर्यो । ६ करोडमा बनेको फिल्मले नेपालमै १० करोडमाथि कमाएको निर्माताको दाबी छ । भारतीय कम्पनी जी नेटवर्कलाई फिल्मको ओटीटी राइट्स समेत बिक्री गरिएको छ । यसबाट निर्माताले राम्रो रकम हात पारेका छन् । यसैबीच, अब यो फिल्मको सिक्वेल निर्माण गरिने भएको छ ।
फिल्मकी निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले ‘ह्रस्व दीर्घ २’ बन्न लागेको जानकारी गराएकी हुन् । आइतबार एक फिल्मको मुहूर्त समारोहमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यतिबेला स्क्रिप्टको तयारीमा जुटेको बताइन् । उनले भनिन्, ‘अब ‘ह्रस्व दीर्घ २’ बनाउँछौं । अहिले हामी स्क्रिप्टको तयारीमा छौं । यसपटक छायांकनमा भारतबाट धेरै सहयोग मिल्दैछ । जी नेटवर्कले पनि सहयोग गर्नेछ ।’
नीताले जी नेटवर्कलाई बेचेरै ‘ह्रस्व दीर्घ’को लगानी उठेको समेत दाबी गरेकी छन् । ‘मैले ‘ह्रस्व दीर्घ’को लगानी भारतबाटै उठाएको छु । जी नेटवर्क (जी फाइभ)लाई ओटीटी राइट्स बिक्री गरेर हाम्रो सम्पूर्ण लगानी उठेको छ । भनेपछि नेपालमा भएको कमाइ र ओभरसिज राइट्स बेचेको रकम हाम्रो विशुद्ध मुनाफामा पर्छ । अझै भारतका हलमा फिल्म प्रदर्शन गर्न बाँकी छ,’ उनले भनिन् ।
‘ह्रस्व दीर्घ’मा नेपालीसहित दक्षिण भारत (साउथ)का चर्चित कलाकारहरुको समेत अभिनय छ । ब्रह्मानन्दम, ‘गजनी’ भिलेन प्रदीप रावत, ‘पुष्पा’ भिलेन सुनिल बर्मा, अली बासा, कबीर दुहन सिंहले फिल्ममा महत्त्वपूर्ण भूमिका निभाएका छन् । उनीहरुकै कारण जी नेटवर्कले फिल्मको ओटीटी राइट्स किनेको हो । यसैले फिल्मको सिक्वेलमा पनि उनीहरू दोहोरिने सम्भावना प्रवल देखिन्छ ।