रास्वपाका सांसद सोबिता र सुमनाको प्रचारबाजीबारे सभामुखले लिए ‘कन्सर्न’, एगोसेन्ट्रिजम हो त?
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतम र सुमना श्रेष्ठको प्रचारबाजीप्रति सभामुख देवराज घिमिरेले ‘कन्सर्न’ लिएका छन्।
सभामुख सचिवालयका अनुसार सोविताले माघ २७ गते पारित भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्न माघ २८ गते आकस्मिक समय माग गरेकी थिइन्।
सभामुखले विधेयक पारित भइसकेका आकस्मिक विषय हुन नसक्ने बताएका थिए। विधेयक पारित गर्नुअघि नै सभामुखले कानून मन्त्री, उपसभामुख तथा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेको र त्यहीँ भएको सहमतिअनुसार नै विधेयक अगाडि बढाएको भने पनि सोबिताले प्रोसेस बिग्रिएको भन्दै बोल्न माग गरेकी थिइन्।
सोविताले बोल्न चाहेको विषय आकस्मिक नहुने भन्दै अरु नै विषय भए राख्न सक्ने सभामुखको भनाई थियो।
फागुन ५ गतेको बैठक सुरुवातको जनाउ घण्टी बस्न सुरु भएपछि सुमना भारतमा नेपाली विद्यार्थी समस्यामा परेको भन्दै समय माग्न आइन्।
सभामुख आफ्नो च्याम्बरबाट उठेर बैठक कक्षतिर प्रवेश गरेलगत्तै सुमना आएको सभामुखले उल्लेख गर्दै सचिवालयले भनेको छ,‘जनाउ घण्टी सुरु भएकाले त्यस विषयमा मैले बुझ्न पाइनँ। तपाईंले अगाडि नै विषय जानकारी गराउनुभएको भए पनि हुन्थ्यो। उठाउने विषय हो भने (माननीय अशोक चौधरीतर्फ देखाउँदै) उहाँलाई भन्नुहोला, उहाँले राखे पनि हुन्छ। उहाँले समय लिइसक्नुभएको छ। मैले तपाईंको विषय बुझ्न समय भएन। या त भोलि राख्नुहोला’ भनेर निस्कनुभयो। रास्वपा प्रमुख सचेतक सन्तोष परियार पनि सँगै हुनुहुन्थ्यो। दलीय अनुरोध पनि आएको होइन।’
अगाडि भनिएको छ,‘आकस्मिक विषय उठाउने नै हुँदा उपसभामुखले चेयर गरेको बेला सभामुखलाई विषय बुझाएर राख्न सकिन्थ्यो। त्यो पनि अभ्यास छ। तर, संसदीय प्रक्रियाभन्दा बाहिर गएर, मिडिया, सोसल मिडियाबाट प्रेसर क्रिएट गर्न खोजिएको छ। सभामुखले अबका दिन पनि हाम्रा अभ्यास, कानून, नियमावलीको व्यवस्था र दलीय समझदारीलाई नै हेर्ने हो।’
सभामुखसँग आकस्मिक समय माग्न बैठक सुरु हुनु आधा घण्टा अगाडि एभरेजमा २० देखि ३० जना सांसद सभामुखको च्याम्बरमा हुन्छन्। तीमध्ये सबैले समय पाउँदैनन्। समय पाउने ८ देखि १० जनाले हो।
आकस्मिक समयमा नियमावलीले नै व्यवस्था गरेको भन्दा फरक विषय उठ्ने गरेको भन्दै कार्यव्यवस्थामै पटक पटक आवाज उठ्ने गरेको छ।
यसलाई सभामुखको सचिवालयले एगोसेन्ट्रिजम पनि भनेको छ। सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारी लेख्छन्,‘आफूलाई केन्द्रमा राखेर मात्र सोच्ने र अरूको दृष्टिकोणलाई नबुझ्ने, आफ्नै विचार मात्र साँचो ठान्ने र अरूको मतलाई अस्वीकार गर्ने व्यवहारलाई एगोसेन्ट्रिजम भनिन्छ।’