नेपाली विद्यार्थीले ओडिसा केआईआईटीको होस्टल फर्किन राखे यस्ता ८ सर्त
काठमाडौं– कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले क्याम्पस छाडेकालाई फर्केर कक्षा सुरु गर्नका लागि अपिल गरेपछि नेपाली विद्यार्थीले ८ वटा सर्त अघि सारेका छन्।
एक अपिलपत्र जारी गर्दै आइतबार भएको सिद्धार्थनगर नगरपालिका स्थायी घर भएकी प्रकृति लम्सालको मृत्यु प्रकरणको घटनाका कारण अवस्था असामान्य भएको तर अव अवस्था सुधार भएकाले कक्षा सुधार गर्नका लागि भनिएको थियो।
करिब ५ सय विद्यार्थीलाई कलेज छाड्नका लागि भनेपछि उनीहरु बाटोमा नै अलपत्र परेका थिए। तर अपिलपछि होस्टल फर्किन उनीहरुले सर्त राखेका हुन्।
उनीहरुले राखेका सर्त यस्ता छन्।
- न्याय सुनिश्चित गरिनुपर्छ । घटनामा संलग्न दोषीहरूलाई कानुनअनुसार कारबाही गरिनुपर्छ ।
- प्रहरी अनुसन्धान गरिनुपर्छ । होस्टल वार्डेन र विश्वविद्यालयका अधिकारीहरूले प्रहरी आउनुअघि नै पीडितको शव आफ्नो नियन्त्रणमा लिई उचित प्रक्रिया उल्लंघन गरेकाले उनीहरूमाथि अनुसन्धान हुनुपर्छ ।
- पीडितको गुनासो बेवास्ता गर्नेहरूमाथि कारबाही हुनुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा पीडितले पटक–पटक पेश गरेका कागजातहरूको विस्तृत अनुसन्धान हुनुपर्छ । ती गुनासोहरू बेवास्ता गर्ने वा नजरअन्दाज गर्ने व्यक्तिहरूलाई जिम्मेवार ठहराई जागिरबाट हटाइनुपर्छ ।
- नेपालको राष्ट्रिय छविमा हमला गर्ने शिक्षकहरूलाई निलम्बन गर्नुपर्छ । छात्रावासभित्र केही महिला शिक्षकहरूले नेपालको राष्ट्रिय बजेटलाई कलेजको खर्चसँग तुलना गर्दै उपहास गरेको व्यवहार पूर्णरूपमा अस्वीकार्य छ । यस्तो गैरजिम्मेवार रवैया देखाउने व्यक्ति कुनै शैक्षिक संस्थामा कार्यरत रहन नपाउने व्यवस्था गर्नुपर्छ ।
- विद्यार्थीहरूमाथि आक्रमणको आदेश दिने उच्च अधिकारीले सार्वजनिक रूपमा माफी माग्नुपर्छ । साथै, उनीहरूले आफ्नो जिम्मेवारी स्वीकार्नुपर्छ र कानुनी कारबाहीको सामना गर्नुपर्छ ।
- सीसीटीभी फुटेज सार्वजनिक गरिनुपर्छ । फेब्रुअरी १७ तारिख बिहान ८ बजेपछि भएको घटनाको सीसीटीभी फुटेज प्रहरीले प्राप्त गर्नुपर्नेछ । फुटेजमा विद्यार्थीहरूलाई आक्रमण गरिरहेका देखिएका व्यक्तिहरूलाई कानुनअनुसार कारबाही गरिनुका साथै तिनलाई तत्काल जागिरबाट हटाइनुपर्छ ।
- विद्यार्थीहरूको यातायात खर्च क्षतिपूर्ति गरिनुपर्छ । होस्टलबाट विद्यार्थीहरूलाई अज्ञात स्थानमा लगेर छोडिएको हुँदा उनीहरूले घर फर्किनका लागि गरेको खर्च कलेजले बेहोर्नुपर्छ ।
- कलेज प्रशासनले आफ्नो गल्ती स्वीकार गर्नुपर्छ । साथै, कलेजले जारी गरेको प्रेस विज्ञप्ति (विद्यार्थीहरू स्वेच्छाले होस्टल छोडेको दाबी गरिएको) झूटो भएको स्वीकार गर्दै वास्तविकता (विद्यार्थीहरूलाई जबरजस्ती कुटपिट गर्दै बाहिर निकालिएको)लाई सार्वजनिक रूपमा स्वीकार गर्नुपर्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केआईआईटीमा अलपत्र रहेका र समस्यामा रहेका विद्यार्थीको समन्वयका लागि भारतस्थित राजदूतावासबाट ओडिसामा दुई कर्मचारी खटाएका थिए।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१ १०:३०
प्रतिक्रिया दिनुहोस्