संसार छाडेकी केआईआईटीकी छात्रा प्रकृतिले यसरी यातना भोगेकी थिइन्, परिवार माग के हो? (अडिओसहित)
काठमाडौं– भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयको क्याम्पसमा बिटेक पढिरहेकी नेपालको सिद्धार्थनगर नगरपालिकाकी २० बर्षिया प्रकृति लम्सालको ज्यानै जानेगरी पीडितले धम्क्याएको र मानसिक यातना दिएको अडिओ सार्वजनिक भएको छ।
केआईआईटीको क्याम्पसस्थित अन्तर्राष्ट्रिय विद्यार्थीले उजुरी गर्ने शाखामा दुई पटक आफूलाई परेको मानसिक यातनाको विषयमा प्रमाणसहित प्रकृतिले जानकारी गराउँदा पनि कारबाही नभएका भारतीय युवा अद्विक श्रीबास्तवले बारम्बार मानसिक यातना दिने गरेको सार्वजनिक भएको हो।
सुन्नुहोस् यो अडिओ
सोही यातनाका कारण छात्राबासमा प्रकृतिले आत्महत्या गरेकी थिइन्।
श्रीवास्तवलाई भुवनेश्वर प्रहरीले पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दा चलाउने भएको छ। क्याम्पस प्रशासनको फितलो र हेपाहा प्रवृत्तिका कारणले एक नेपाली छात्राले ज्यान गुमाउन बाध्य हुनु परेको थियो।
यसको प्रोटेस्टमा नेपाली विद्यार्थी उत्रिँदा प्रहरी परिचालन गरी क्याम्पसले घर फर्किन र छात्रवास खाली गर्न भनेको थियो। तर, पछि पुनः स्थिति सामान्य भएका कारण फर्किनका लागि आग्रह गरेको थियो।
नेपाली विद्यार्थीले आठ वटा सर्त अघि सारेका छन्।
(योसँग सम्बन्धित समाचार स्क्रोल गरी तल पढ्न सकिनेछ)
यसैबीच, सिद्धार्थनगर नगरपालिका वडा नं ८ बैंक कलोनी भैरहवामा बस्दै आएका परिवारजनले भने सरकारले विज्ञप्ति मात्र निकालेर नपुग्ने बताएका छन्।
सिद्धार्थनगर नगरपालिकाका वडा नं ८ का अध्यक्ष राजनजंग राणाले प्रकृतिको मृत्यु र त्यसपछि सयौं नेपाली विद्यार्थीमाथि भएको ज्यादतीबारे नेपाल सरकारले भारत सरकारसँग कुरा गर्नुपर्ने बताए।
‘यो घटनाले प्रकृतिको परिवार र भैरहवा मात्र हैन सिंगो नेपालको अपमान गरेको देखिन्छ, यसलाई सामान्य ढंगले लिन मिल्दैन सरकारले उच्च तहमा वार्ता गर्नुपर्छ’, वडाध्यक्ष राणाले भने, ‘गल्ती गर्नेले सजाय पाउनुपर्छ,माफी माग्नुपर्छ परिवारले न्याय पाउनुपर्छ ।’
नयाँ दिल्लीस्थित नेपाली दूतावासले विश्वविद्यालयका प्रतिनिधिसँग कुरा गरेको र नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको जनाएको छ।