केआईआईटीमा प्रकृतिको मृत्युः घटना हुनु २० मिनेट अगाडि आमासित खुशी साटासाट गरेकी थिइन्
काठमाडौं– रुपन्देहीको सिद्धार्थनगर–८ स्थायी घर भई भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयको क्याम्पसमा बीटेक तेस्रो बर्ष पढिरहेकी प्रकृति लम्सालले मृत्युको २० मिनेट अघि आमासँग अनलाइनमा कुराकानी मात्र गरिनन्, खुशी पनि साटेकी थिइन्।
घटना हुनु २० मिनेट अघि काठमाडौंमा रहेकी आमा सरितासँग प्रकृतिले आफू एउटा कन्सर्टमा गएको र फेसबुकमा फोटो पोष्ट गरेको भन्दै खुशी साटासाट गरेकी थिइन्।
कुराकानी गरेको २० मिनेट पछि नै प्रकृतिले छात्रावासमा आत्महत्या गरेको भन्ने खबर सुन्नासाथ लम्साल परिवारमा पीडाको पहिरो गयो।
आमा बेहोस् नै भएपछि उनलाई सोमबार काठमाडौंबाट सिद्धार्थनगर लगिएको थियो।
सरिता मंगलबारसम्म पनि सामान्य अवस्थामा फर्किन सकेकी छैनन्। उनी छोरी गुमाएको भावविह्ल अवस्थामा रहेको आफन्तले बताएका छन्।
स्याङजाबाट भैरहवामा बसाइँसराइ गरेका लम्साल परिवारमध्ये प्रकृतिका बुबा–आमा काठमाडौं धापासीमा साथी फुड्स उद्योग चलाएर बसेका थिए।
प्रकृतिकै सहपाठी कोलकाता घर भएका अद्विक श्रीवास्तवले मानसिक तनाव (ह्यारेसमेन्ट) दिएकाले प्रकृतिको शंकास्पद मृत्यु भएको भुवनेश्वर प्रहरीले नै जनाएको छ। प्रहरीले श्रीवास्तवलाई पक्राउ गरीसकेको छ।
विश्वविद्यालय प्रशासनका केही व्यक्तिले ४० हजार नेपालीलाई भारतले निःशुल्क पढाइदिएको भन्दै नेपालीमाथि अपमान गरेको थियो।
पीडित भन्छन्,‘सरकारले एउटा विज्ञप्ति निकालेर मात्र पुग्दैन, प्रधानमन्त्री तहबाट कुरा गरेर घटनाको उच्चस्तरीय छानबिन गरी दोषीलाई हदैसम्मको सजाय र मृतक परिवारलाई न्याय दिनुपर्छ।’
यसका निम्ति कुटनीतिक पहल गर्नुपर्ने प्रकृतिका साथी र परिवारजनको माग छ। यो घटनाले प्रकृतिको परिवार र भैरहवा मात्र हैन सिंगो नेपालको अपमान गरेको देखिन्छ भन्दै सिद्धार्थनगरका जनप्रतिनिधिले यसलाई सामान्य ढंगले लिन नमिल्दैन सरकारले उच्च तहमा वार्ता गर्नुपर्ने बताएका छन्।
नयाँ दिल्लीस्थित नेपाली दूतावासले विश्वविद्यालयका प्रतिनिधिसँग कुरा गरेको र नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको जनाएको छ।
दिल्लीस्थित नेपाली दूतावासले उडिसाको घटनाबारे विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीहरूलाई शैक्षिक संस्थाको छात्रावासमा बस्ने प्रबन्ध मिलाउन अनुरोध गरिएको र त्यस अनुसार नै शैक्षिक संस्थाले व्यवस्था गरेको जनाएको छ।
त्यसका लागि विश्वविद्यालयले सोमबार अपिल नै जारी गरेको थियो।
राजदूत शंकर शर्माले शैक्षिक संस्थाका रजिस्ट्रार लगायतका प्रतिनिधिहरूसँग छलफल गरेको पनि विज्ञप्तिमा उल्लेख छ।
दूतावासले नेपाली विद्यार्थी लगायत भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरूसँग पनि सम्पर्क गरिरहेको उल्लेख गरेको छ।
शर्माले प्रकृतिको घटना भएका दिन मात्रै भारतीय राष्ट्रपतिसामु ओहदाको प्रमाणपत्र बुझाएर नियमित काममा लागेका थिए।