प्रकृति लम्साल मृत्यु प्रकरण : केआईआईटीका २ सुरक्षा गार्ड बर्खास्त, ३ अधिकारी निलम्बन
काठमाडौं- भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) का उच्च तहका प्रशासनिक अधिकारीसहित सुरक्षागार्ड लिलम्बनमा परेका छन् ।
केआईआईटीले विज्ञप्ति जारी गर्दै दुईजना सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको, दुई जना वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का एक जना वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी गराएको छ ।
‘१६ फेब्रुअरीमा भएको घटनाप्रति केआईआईटी अधिकारीहरू र सम्पूर्ण कर्मचारीहरू गहिरो दुःख व्यक्त गर्दछन् । दुई सुरक्षा कर्मचारीलाई तुरुन्तै बर्खास्त गरिएको छ,’ कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको छ ।’
त्यस्तै, कर्मचारीहरूले विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्कन अधिकतम् प्रयास गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
‘क्याम्पसमा नेपाली विद्यार्थीहरूलाई फर्काउन सहज बनाउन क्याम्पस ६ मा एक प्रतिबद्ध नियन्त्रण कक्ष चौबिसै घण्टा सञ्चालनमा छ,’ विज्ञप्तिमा भनिएको छ ।
बुटबल घर भएकी २० वर्षीया प्रकृति लम्सालको आइतबार मृत्यु भएको थियो ।
सोही कलेजमा अध्ययनरत विद्यार्थीले मानसिक यातनाका कारणले लम्सालको मृत्यु भएको भन्दै विद्यार्थीहरू आन्दोलनरत छन् ।