Nic Ad Nic Ad
Nic Ad Nic Ad

नयाँ दिल्ली पुगेका प्रकृतिका बुवा भन्छन्– छोरीलाई ह्यारेन्समेन्ट भएको रहेछ, न्याय चाहिन्छ

मंगलबार, फागुन ६, २०८१

काठमाडौं- भारतको उडिसा स्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यपूर्ण मृत्युपछि उनका बुवा सुनिल लम्साल घटनास्थल पुगेका छन् । विश्वविद्यालय र प्रहरी–प्रशासनसँग उनको कुराकानी भएको छ ।

भारतीय मिडियासँग कुरा गर्दै सुनिलले आफ्नो छोरीको मृत्युका सम्बन्धमा निष्पक्ष छानबिन गर्न अपिल गरे । ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना आफूले पाएको उनले बताए । लम्सालले भने, ‘हामीलाई यति सूचना छ कि ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङले गर्दा सुसाइड गरेको हो । बाँकी हामीलाई केही थाहा छैन । आधिकारिक रुपमा अरू केही पनि भनिएको छैन ।’

आफू आएपछि युनिभर्सिटीले राम्रो समन्वय गरिरहेको उनले बताए । ‘हिजो युनिभर्सिटीसँग कुरा भएको थियो । उनीहरूले आधिकारिक त केही पनि बताएनन् । तर कोअपरेट गरिरहेका छन्,’ लम्सालले भने, ‘प्रहरी–प्रशासनले पनि सहयोग गरिरहेको छ ।’

सोही कलेजमा अध्ययन गर्ने प्रकृतिका दाइ पर्ने सिद्धान्त सिग्देलले घटनापछि उनलाई फोन गरेका थिए । खबर पाउनासाथ आफू तुरुन्तै हिँडेको लम्सालले बताए ।

‘उसको दाइ पनि यहीँ पढ्छ । उसले फोन गरेर छिटो आउनुस् भन्यो । डेथ भएको भनेर चाहिँ भनेन । आउनुस् मात्र भन्यो । हामी निस्किहाल्यौँ । अस्ति साँझ ५ बजे चाहिँ मृत्यु भइसकेको भनेर थाहा भयो ।’

तपाईँहरूको माग अब के छ ? भन्ने पत्रकारको प्रश्नमा लम्सालले दोषीलाई कारबाही हुनुपर्ने बताए । ‘प्रहरीले एक जनालाई समातेको छ । सायद उसैको कारणले होला । फेरि पुलिस–प्रशासनसित कुरा हुन्छ । त्यसपछि थाहा होला । छोरीको ल्यापटप, मोबाइल, डायरीहरू फरेन्सिकमा लगेको छ । त्यसबाट पनि धेरै कुरा थाहा होला ।’ उनले भने ।

यहाँको कानूनी प्रक्रिया सकेर छोरीको शव नेपाल लैजाने उनले बताए । ‘लिएर त जानै छ । तर प्रोसिडियर हुन्छ । एउटा देशबाट अर्को देश लाने कुरा हो । सकेसम्म आज भए आज नभए भोलि लैजाने प्रयास छ ।’ उनले भने ।

घटनापछि नेपाली विद्यार्थीलाई कलेजले ज्यादती गरेकोमा उनले दुख व्यक्त गरेका छन् । लम्सालले भने, ‘नेपाली विद्यार्थीलाई लखेटेको रहेछ । यो ठिक होइन । चाहिएको बेलामा आउनुस् भन्ने, केही घटना हुनासाथ जानुस् भन्ने । टाढाबाट आएका छन् । उनीहरूलाई जान गाह्रो हुन्छ । यस्तो गर्नु हुँदैनथ्यो । हामी न्याय चाहन्छौँ ।’

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्