Nic Ad Nic Ad
Nic Ad Nic Ad

केआईआईटीमा नेपाल प्रहरीका दुई बरिष्ठ अधिकारी पठाइयो, परराष्ट्रमन्त्री निरन्तर सम्पर्कमा

मंगलबार, फागुन ६, २०८१

काठमाडौं– नेपालको सिद्धार्थनगर नगरपालिका–८ स्थायी घर भएकी छात्रा प्रकृति लम्सालको मृत्युपछि भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा देखिएको नेपाली विद्यार्थीमाथिको समस्या समाधानका लागि सरकारले निरन्तर पहल गरेको जानकारी दिइएको छ। 

परराष्ट्रमन्त्री आरजु राणाले विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई हामीले निरन्तर रुपमा फलोअप गरिरहेको बताएकी हुन्।

‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूताबास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नुभएको छ’, मंगलबार जारी प्रेस नोटमा राणाले भनेकी छन्,‘मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु।’

यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेको जानकारी दिएकी राणाले भनिन्, ‘हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीलाई होस्टेलमा फर्कन अपील गरिसकेको छभने नेपाली विद्यार्थीलाई दुव्र्यवहार गर्ने स्टाफलाई कारबाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचना मार्फत गराएको छ।’

नेपाली विद्यार्थी होस्टलमा फर्किनका लागि ८ वटा शर्त अघि सारेका छन्। भारतीय सरकारका निकायले पनि समन्वयात्मक भूमिका निर्वाह गरिरहेको बताइएको छ। रेलवे स्टेशन पुगेका नेपाली विद्यार्थीलाई ओडिसा प्रहरीले फर्काउन थालेको थियो।
 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्