प्रकृति लम्साल मृत्यु प्रकरण सम्बन्ध चिस्याउने कारण नबनोस्, एक पटक ‘क्रुक’ सम्झिऔं
सिद्धार्थनगर–८ की स्थायी बासिन्दा भई भारतको ओडिसा राज्यको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) क्याम्पसमा बीटेक पढिरहेकी प्रकृति लम्सालको मृत्यु प्रकरण अहिलेको विशेष विषय बनेको छ। प्रतिनिधि सभामा सवाल उठेका छन्। राष्ट्रिय सभा सक्रिय भएको छ।
विभिन्न दलका विद्यार्थी संघ संगठनले प्रश्न उठाएका छन्। राष्ट्रिय पार्टीहरुले पनि आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्।
नयाँ दिल्लीस्थित दूतावास सक्रिय बनिरहेको छ। परराष्ट्रमन्त्रीले पनि निरन्तर चासो दिएको भन्ने प्रेस नोटहरु आइरहेका छन्। अहिलेका लागि नेपाल र नेपालीले खास चासो दिने भनेको हाम्रो प्रतिनिधि सरकार रहेको दिल्ली स्थित नेपाली दूतावासको सक्रियता हो।
भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा सक्रिय भएको विवरण आएको छ। शर्माले केआईआईटीका संस्थापक अच्युत सामन्त टेलिफोनमा कुराकानी गरेका छन्। राजदूत शर्माले मंगलबार दिउँसो केआईआईटीका संस्थापक सामन्तसँग टेलिफोनमा कुराकानी गरेका हुन्।
मंगलबार नै केआईआईटीकाका प्रतिनिधिहरूसँग पनि राजदूत शर्माले भेट गरेको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ।
टेलिफोनमा नेपाली विद्यार्थीप्रति भएको दुव्यवहारप्रति सामन्तले सार्वजनिक रूपमा कलेजले माफी मागेको र केही सुरक्षागार्ड तथा कर्मचारीमाथि कारबाही गरिएको बताएका थिए। यसका साथै मंगलबार दिउँसै राजदूत शर्माले किटका प्रतिनिधिहरूसँग पनि भेटेर कुराकानी गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
लम्साललाई सोही युनिभर्सिटीमा अध्ययनरत अद्विक श्रीवास्तव नामक युवकले मानिसक यातना दिने गरेका थिए। त्यसबारे युनिभर्सिटी प्रशासनलाई निवेदन दिँदा समेत कुनै कारबाही भएको थिएन। यस्तोमा लम्सालको मृत्युपछि यो मामलामा गम्भीर जाँच गर्न माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका थिए। श्रीवास्तव अहिले प्रहरी कस्टडीमा अनुसन्धानका क्रममा छन्।
यो विषयले चाहिने जति पहलकमदी र चर्चा पाएको छ। अब यसको समाधानको विषयलाई कुटनीतिक तहबाट गर्नका लागि अपडेट गराउनू दायित्व हुन्छ। तर विद्यार्थीबीचको विभेद र खाडलको विषय नबोस्। यसका निम्ति पाठकलाई म एउटा विषयलाई स्मरण गराउन चहान्छु।
अस्ट्रेलियाका स्थानीय र भारतीय विद्यार्थीबीचको ठूलो विवाद र द्वन्द्वको सत्य घटनामा आधारित फिल्म ‘क्रुक’ स्मरणमा ल्याउन चाहें।
अस्ट्रेलियामा भएका भारतीय विद्यार्थीहरूमाथि भएका आक्रमणहरूलाई केन्द्रमा राखेर कथा प्रस्तुत गर्छ। फिल्मको कथाले एक भारतीय युवक जय (इमरान हाशमी) को जीवनलाई पछ्याउँछ, जो अवैध रूपमा अस्ट्रेलिया पुग्छ र त्यहाँ बसेर नयाँ जीवन सुरु गर्ने प्रयास गर्छ। तर, जब उनले भारतीय विद्यार्थीहरूमाथि आक्रमण भइरहेको देख्छ, तब उनी हिंसा, जातीय संघर्ष, र व्यक्तिगत स्वार्थको जालोमा फस्छ।
अस्ट्रेलियामा भारतीय विद्यार्थीहरूमाथि भएका हमलाहरू भएका थिए। सन् २००९–२०१० को समयमा अस्ट्रेलियामा केही भारतीय विद्यार्थीहरू माथि जातीय आक्रमण भएका थिए। फिल्मले यी घटनालाई प्रमुख रूपमा उजागर गरेको छ।
अस्ट्रेलियामा केही भारतीय विद्यार्थीहरू अस्ट्रेलियन युवाहरूबाट दुव्र्यवहारको सिकार भएको सन्दर्भ फिल्ममा देखाइएको छ। फिल्मले विदेशमा अध्ययन गर्न जाने भारतीय विद्यार्थीहरूले सामना गर्नुपर्ने चुनौतीहरूलाई चित्रण गरेको छ।
फिल्मले भारतबाहिर रहेका भारतीयहरूको पहिचान, उनीहरूले भोग्ने सामाजिक समस्या र उनीहरूकै बीच हुने भेदभावलाई पनि देखाउने प्रयास गरेको छ। सत्य घटनामा आधारित त्यो फिल्मको शैलीमा पुग्ने स्थितिमा यो विवादलाई लम्ब्याउने काम गर्न हुन्न।
प्रकृति लम्साल प्रकरणमा दोषीलाई कारबाही, पीडित परिवारलाई क्षतिपूर्ति र कलेजमा रहेका नेपाली विद्यार्थीको सुरक्षाको विषयमा कुटनीतिक तहमा नै बलियो प्रभाव राखौं, अनौपचारिक रुपमा धेरै विवादीत तर्कचाहिँ नगरौं।