युक्रेन युद्ध: अमेरिका र रुसबीच ३ महत्वपूर्ण समझदारी
काठमाडौ - युक्रेन युद्ध अन्त्यका लागि भन्दै साउदी अरेबियामा भएको अमेरिका र रुसका उच्च अधिकारीहरुबीचको उच्चस्तरीय वार्तामा महत्वपूर्ण समझदारीहरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
अमेरिका र रुसले युक्रेन युद्ध अन्त्यका लागि वार्ता टोली गठन गर्न सहमत हुँदै विभिन्न तीन बुँदाहरुमा सहमति भएको रसियाका विदेशमन्त्री सर्गेई लाभरोभले जानकारी दिएका छन्।
उनका अनुसार एक-अर्काका देशहरूमा यथाशक्य छिटो राजदूत नियुक्त गर्ने, कूटनीतिक मिशनहरूमा रहेका अवरोध हटाउने, जसमध्ये बैंक हस्तान्तरणमा रहेका प्रतिबन्धहरू हटाउनेलगायत समझदारी भए।
त्यस्तै, युक्रेनी विवाद समाधानको प्रक्रिया अघि बढाउन वार्ता टोली बनाउने, जहाँ अमेरिकाले आफ्नो प्रतिनिधि नियुक्त गरेपछि रुसले पनि गर्ने लाभरोभले जानकारी दिए।
त्यस्तै, तेस्रो बुँदामा अमेरिकाले पूर्ण रूपमा सहकार्य पुनः सञ्चालन गर्न अनुकूल वातावरण बनाउने र विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने उल्लेख गरेका छन्।
वार्तापछि सर्गेइले भने, ‘यो निकै उपयोगी छलफल रह्यो। हामी एकअर्कालाई सुन्न सफल भयौँ र बुझ्न सक्यौा।’
त्यस्तै, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कठिन कूटनीतिक प्रक्रियामार्फत मात्रै यस्ता वार्ताहरु सम्भव हुने बताए। उनले भने, ‘यस्ता विषयहरू कठिन कूटनीतिक प्रक्रियामार्फत, गोप्य वार्ताका क्रममा, लामो समयको प्रयासपछि मात्र सम्भव हुन्छ।’
उनले थपे, ‘कुनै पनि द्वन्द्व अन्त्य गर्न, त्यसमा संलग्न सबै पक्षहरू त्यस निर्णयलाई स्वीकार गर्न तयार हुनुपर्छ।’
रुबियोका अनुसार आजको बैठकको मुख्य उद्देश्य राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच गत हप्ता भएको टेलिफोन वार्तापछि संवादको मार्ग खुला राख्नु रहेको र त्यसमा सफलता हात पारेको बताए।
उनले भने, ‘आज लामो र कठिन यात्राको पहिलो कदमको सुरुवात हो, यो निकै महत्त्वपूर्ण छ।’
उनले थपे, ‘राष्ट्रपति ट्रम्प यो द्वन्द्व अन्त्य गर्न प्रतिबद्ध छन्, जसरी उनले राष्ट्रपतिको चुनावी अभियानमा बताएका थिए। त्यहीअनुसार अघि बढ्नु भएको छ।’
रुबियोले भने, ‘उहाँ चाहनुहुन्छ कि यो युद्ध न्यायपूर्ण तरिकाले टुंगियोस्, दीर्घकालीन रूपमा स्थायी रहोस्, र दुई-तीन वर्षपछि अर्को युद्ध निम्त्याउने परिस्थिति सिर्जना नगरोस्।’
रुस र अमेरिकाले वार्तामा आगामी दिनमा युरोप र युक्रेनलाई पनि सहभागी गराउने गरी तयारी गर्ने जानकारीसमेत गराएका छन्।