Nic Ad Nic Ad
Nic Ad Nic Ad
राजनीति

महाधिवेशनतिर कांग्रेसः नयाँ पुस्ताको गठजोड रोक्न पूरानाले बनाउँदैछन् अर्को समूह

महामन्त्रीद्वय गगन थापा, विश्प्रकाश शर्मा र प्रदीप पौडेलको नयाँ गठजोड बनेर अगाडि बढेको खण्डमा त्यसलाई रोक्न पूर्वपदाधिकारीको अर्को समूह खडा हुँदैछ
बुधबार, फागुन ७, २०८१

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसै साता आफूलाई गत महाधिवेशनमा सहयोग गरेका नेतालाई बुढानिलकण्ठमा बोलाएका बेला कृष्ण सिटौलाले भने,‘मैले तपाईलाई दुई पटक सहयोग गरेको छु। अब, संस्थापनको तर्फबाट सभापतिको उम्मेदवार मलाई बनाउनुहोस्।’

samridhi jewllers

देउवाले यस विषयमा उत्तर दिएनन्। नदिनुका अनेक कारण छन्। देउवासँग तीन विकल्प छन्। सबैका सामु सिटौलाले मुख खोले पनि देउवा नाजवाफ हुनुको पहिलो कारण उपसभापति पूर्णबहादुर खड्का थिए। यसपछि देउवाले आगामी महाधिवेशनको कस्तो समूह बनाउने भनेर विचार गर्नु एउटा कुरा भयो तर आफैं पनि विधान संशोधन गरी उम्मेदवार बन्ने हो कि भन्ने पनि सोच बनाएको बताइन्छ।

उता शेखर कोइराला अर्को समूहबाट सभापतिको उम्मेदवार रहेको घोषणा गरेर माधिवेशनको अभियानमा लागिरहेका छन्। यो समूहको समस्या वा अड्को भनेका महामन्त्री गगन थापा हुन्। तर, कोइरालाले सभापतिको उम्मेदवारी नछाड्ने पक्का भएका बेला थापाको नयाँ रणनीति बन्ने नै छ। 

‘अहिले समस्या संस्थापन पक्षमा छ। तर संस्थापन पक्षले पनि कुरा क्लियर गरे कांग्रेसमा विकल्पमा बन्नेछन् दुई समूह’, एक नेता भन्छन्। 
त्यो समूहको चर्चा यसरी हुन थालिसकेको छ।

संस्थापन इतर कोइराला समूहबाट थापालाई सभापतिको उम्मेदवार नबनाए या सभापति देउवाले पनि महाधिवेशनमा अघि बढाउन नचाहेको खण्डका युवा पुस्ताको नयाँ समूह बन्नेछ। 

‘मैं जहाँ खडा होता हुँ, लाइन वहीँ से सुरु होता है भने जस्तै हो। अहिले महाधिवेशनको चर्चामा लागेको छैन। तर, समूह मैले बनाएको हो’, महामन्त्री थापाले एउटा अन्तरवार्तामा भनेका थिए,‘महाधिवेशनमा कसरी जाने भन्ने विषयमा अहिले सभापति, महामन्त्री दाई विश्वप्रकाश शर्मा र मैले केही भनेका छैनौं। तर, पदाधिकारी भएका नाताले काम गरौं भन्ने कुरा मात्र छ।’

थापाले यसो भने पनि महाधिवेशनतिर कांग्रेस लागेको छ र माहौल तातिसकेको छ। 

संस्थापन र संस्थापनइतर समूह सभापतिको उम्मेदवारका निम्ति टसमस नभएको खण्डमा दुई नयाँ समूहको जोडदार प्रवेश हुनेछ। 

एउटा समूह युवा पुस्ताको रहनेछ भने अर्को त्यसलाई रोक्ने समूह बनने लगभग पक्कापक्की छ। 

युवा पुस्ताको समूहमा महामन्त्रीद्वय थापा र शर्मासहित हाल स्वास्थ्यमन्त्री रहेका प्रदीप पौडेलसहित विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका नेता र तेस्रो पुस्ता रहने लगभग पक्का भइसकेको छ। 

‘अब हस्तक्षेप गर्नुपर्छ। को कता भन्ने कुरा होइन। कांग्रेसभित्रका युवा पुस्तालाई कन्भिन्स गरेर हामी अगाडि बढ्न सक्छौं’, एक नेता भन्छन्,‘जस्तोसुकै अवस्थालाई पनि छिचोलेर महाधिवेशनमा जित निकाल्नुपर्छ। चिर्नुपर्छ भन्ने हाम्रो मान्यता रहनेछ।’

तर यो चेत भएका युवा पुस्तालाई रोक्ने अर्को समूहको पनि पूरापूर तयारी रहेको बुझिन्छ। 

कांग्रेसका तीन नेता विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाले अन्य पूर्वपदाधिकारीहरू समेत समटेर महाधिवेशन केन्द्रित गठजोडको पहल गरिरहेका छन्।

पूर्वपदाधिकारीको नयाँ समूह बनाएर नयाँ पुस्तालाई रोक्दै अबको अधिकार आफ्नो पुस्ताको भन्ने दाबी पनि हुने बताइन्छ। 

निधि र सिंहले उपसभापतिको भूमिका समेत निर्वाह गरिसकेका छन् भने कोइराला पूर्वमहामन्त्री हुन्। निधि र सिंह विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आएकाले संगठनको बलसँगै पारिवारिक बिरासतसमेत छ। 

तीन नेताहरू आगामी महाधिवेशनमा मिलेर जाने विषयमा छलफल गर्नुको अतिरिक्त थप नेताहरूलाई जोड्ने प्रयासमा छन्। पूर्व उपसभापतिद्वय विजय गच्छदार, गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेतासँग छलफल गर्ने पनि तयारी भएको छ। 
 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्