Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘लाज शरणम्’मा अदालतको रोकपछि ‘एक्टर: टेक वन’का निर्माताले सम्झिए आफ्नो पीडा

बुधबार, फागुन ७, २०८१

काठमाडौं– नेपाली फिल्म उद्योगमा अभिव्यक्ति स्वतन्त्रता र सेन्सरशिपको विषय फेरि चर्चामा आएको छ। निर्देशक तथा फिल्म निर्माता थम्मन कुमार भण्डारीले आफ्नो फिल्म 'Aktor: Take One' को रिलिज अघिल्लो दिन अदालतले बिना कुनै पूर्वजानकारी रोकिदिएको बताएका छन्। यसअघि, अदालतले "फिल्म बिग्रिने (सड्ने) कुरा होइन" भन्ने भनाइ दिएको भए पनि, अन्ततः फिल्मको प्रदर्शन रोक लगाइयो।

यसैबीच, अर्को फिल्म 'लाज शरणम्' लाई समेत अदालतले प्रचारमा रोक लगाएको छ। अदालतको आदेश अनुसार, सेन्सर पास नभएसम्म कुनै पनि प्रचारात्मक गतिविधि गर्न नपाइने निर्णय भएको छ।

निर्देशक भण्डारीले यस घटनाले नेपाली फिल्म उद्योगमा ठूलो प्रभाव पार्ने बताएका छन्। “संसारभरि सिनेमामा सेन्सरशिपको विरोध भइरहेको बेला, नेपालमा अदालतले नै ‘पहिले सेन्सर पास गर, अनि मात्र प्रचार गर’ भन्ने आदेश दिनु अचम्मको विषय हो। के नेपाली फिल्ममेकरहरूले सिर्जनात्मक अभिव्यक्ति गर्ने स्वतन्त्रता गुमाइसके?” उनले प्रश्न गरे।

उनले फिल्म रिलिज रोक्दा पर्न सक्ने आर्थिक र मानसिक असरबारे पनि प्रकाश पारे। “जब तिमीमाथि यस्तै अन्याय पर्छ, अनि मात्र तिमीलाई थाहा हुन्छ— तिम्रो पैसा, तिम्रो परिश्रम, तिम्रो सपना कसरी क्षणभरमै ध्वस्त पारिन्छ,” उनले भने।

नेपाली चलचित्र क्षेत्रमा लगातार आइरहेका यस्ता घटनाहरूले सम्पूर्ण फिल्म उद्योगको भविष्य नै संकटमा पार्ने चिन्ता व्यक्त गरिएको छ। “यदि अन्ततः फिल्ममाथि यति धेरै नियन्त्रण लगाउनु नै हो भने, अदालतले सिधै ‘फिल्म नबनाऊ’ भन्ने आदेश नै दिए हुन्छ,” भण्डारीले आक्रोश पोख्दै भने।

सामाजिक संजाल फेसबुकमा भण्डारीले लेखेका छन् । 

भर्खरै मात्र मेरो फिल्म ‘Aktor: Take One’ रिलिजको अघिल्लो दिन बिना कुनै आधिकारिक जानकारी, बिना कुनै आधिकारिक पत्र, अदालतले अनि हलले फिल्म रोकिदिएको दृश्य तपाईँहरूले देख्नुभएकै छ। अदालतबाट म स्वयंले फिल्म नचलाउनू भन्ने आदेश पाएँ। अदालतकै न्यायाधीशले “फिल्म भन्ने कुरा बिग्रिने (सड्ने) होइन” भनेर भनेको कुरा मेरो कानले सुनेको थिएँ।

अहिले फेरि अर्को फिल्म ‘लाज शरणम्’लाई अदालतले प्रचारमा रोक लगाइदिएको छ। सेन्सर पास नभई कुनै पनि गतिविधि गर्न नपाइने आदेश दिएको छ। यसको अर्थ के हो? नेपाली फिल्म क्षेत्रका ती निकायहरू, ती सङ्घ-संस्थाहरू के को लागि हुन्? यदि अन्ततः निर्णय अदालतले नै गर्ने हो भने, सबै कुरा अदालतबाट आदेश लिएर मात्र काम गरौँ !

संसारभरि सिनेमामा सेन्सरशिपको विरोध भइरहेको बेला, नेपालमा अदालतले नै “पहिले सेन्सर पास गर, अनि मात्र प्रचार गर” भन्ने आदेश दिनुको अर्थ के हो? के नेपाली फिल्ममेकरहरूले सिर्जनात्मक अभिव्यक्ति गर्ने स्वतन्त्रता गुमाइसके?

केही व्यक्तिहरूले “फिल्म रोक्दा के भो त?” भन्ने कुरा सजिलै भन्दै गरेको देख्छु। साँच्चै नै अचम्म लाग्छ! साथी, जब तिमीमाथि यस्तै अन्याय पर्छ, अनि मात्र तिमीलाई थाहा हुन्छ - तिम्रो पैसा, तिम्रो परिश्रम, तिम्रो सपना कसरी क्षणभरमै ध्वस्त पारिन्छ!

यदि अन्ततः फिल्ममाथि यति धेरै नियन्त्रण लगाउनु नै हो भने, अदालतले सिधै “फिल्म नबनाऊ” भन्ने आदेश नै दिए हुन्छ। हामी फिल्ममेकरहरू अर्को नै पेसा अपनाउँछौँ। हरेक पात्र, हरेक कथा जाँच्दै हिँड्नु पर्ने अवस्था आउँछ भने, नेपाली फिल्म उद्योग नै बन्द गरिदिने निर्णय किन नगर्ने?

यस्तो अन्यायपूर्ण हस्तक्षेपले सिर्जनात्मकता दबाउने मात्रै होइन, सम्पूर्ण फिल्म उद्योगको अस्तित्व नै सङ्कटमा पार्नेछ।

#justiceforaktortake1 #JusticeForlaajsaranam

#AktorTakeOne Re Releasing Soon

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्