केआइआइटीबाट निकालिएका ८० विद्यार्थी जोगबनी हुँदै नेपाल आइपुगे
काठमाडौ - भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)बाट निकालिएका ८० नेपाली विद्यार्थी जोगबनी नाका हुँदै नेपाल फर्किएका छन्।
केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु भएपछि विश्वविद्यालयले जबर्जस्ती निकालेकामध्ये बुधबार दिउँसो ४ बजेसम्म ८० विद्यार्थी जोगबनी नाकाबाट नेपाल आइपुगेका हुन्।
विश्वविद्यालयको होस्टलबाट निकालिएका विद्यार्थीहरू कोही बसबाट त कोही रेलमार्ग हुँदै जोगबनी नाका भएर नेपाल आइपुगेका हुन्। जोगबनीबाट नेपाल आउनेहरूमा धेरैजसो मोरङ, सुनसरी र सप्तरी जिल्लाका विद्यार्थीहरू रहेका बताइएको छ।
विद्यार्थीहरू आउने क्रम जारी रहेको र सबैको नाकामा विवरण लिएर नजिक भएकालाई आफैँ र टाढा भएकाहरूलाई प्रहरीले विराटनगर बसपार्कसम्म छाडिदिएको सीमा प्रहरी चौकी रानीका सइ सुभाष अधिकारीले बताए। नेपाल फर्केका विद्यार्थीहरू धेरैजसो भारतको कलकत्ताबाट जोगबनीसम्म र रेलमार्गबाट कटिहार हुँदै जोगबनी भएर आइरहेका छन्।
यसअघि आजै सो विश्वविद्यालयबाट निकालिएका ९६ नेपाली विद्यार्थी वीरगन्ज नाकाबाट घर फर्किएकाे पर्सा प्रहरीले जनाएको छ।