प्रजातन्त्र आएपछि पहिले राजा र त्यसपछि माओवादीको हिंसाले ३/३ दशक खेर गयो : गगन थापा
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २००७ सालमा प्रजातन्त्र आएपछि पहिले राजा र त्यसपछि माओवादीको हिंसाले तीन/तीन दशक खेर गएको टिप्पणी गरेका छन्। बुधवार पाल्पामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो दाबी गरेका हुन्।
‘नेपालका राजाहरूको महत्त्वाकाङ्क्षाले हाम्रो ३० वर्ष खेर गयो। ००७ सालको आन्दोलनपछि प्राप्त गरेको एउटा शृङ्खला टुट्यो,’ महामन्त्री थापाले भने, ‘त्यसपछि माओवादी अनावश्यक जनयुद्धको नाममा हिंसा थोपरिदियो । त्यस कारणले नेपालको अर्को १० औँ वर्ष खेर गयो।’ यसरी पञ्चायत कालमा एउटा नेपाली पुस्ता खेर गएको र त्यसपछि माओवादी द्वन्द्वका कारण थप अर्को पुस्ता पनि खेर गएको उनले टिप्पणी गरे ।
‘०५० देखि ०६० सम्मको १० वर्ष हिंसामा गयो। ०७० देखि ०८० सम्मको १० वर्ष संविधान बनाउन र कार्यान्वयन गर्नमा गयो। ३० वर्ष गयो,’ उनले भने, ‘पहिलो ३० वर्ष पञ्चायतमा गयो। पछिल्लो ३० वर्ष अनावश्यक युद्ध, युद्धले थोपरेको फोहोर सोहोर्ने क्रममा हाम्रो ३० वर्ष गयो।’
अहिले मुलुकमा संविधान, राजनीतिक अधिकार, सामाजिक अधिकार, सांस्कृतिक अधिकार रहेको बताउँदै महामन्त्री थापाले पाँच पाँच वर्षमा चुनाव हुने राम्रो, अमन चयनसहितको शान्ति स्थिति रहेको बताए। ‘यसो हे¥यो भने ठिकठाक छ,’ उनले भने। सबै ठिकठाक भएपछि अझ फेरि अर्को विवाद सुरु हुन थालेको पनि उनले सुनाए। उनले भने, ‘सुरु के भएको छ भने एउटा ठुलो रुवाबासी सुरु भएको छ। देश गयो, सक्यो, बिग्रियो, भत्कियो । अब केही नयाँ कुरा चाहियो भनेर छलफल सुरु भएको छ।’