Nic Ad Nic Ad
Nic Ad Nic Ad

सौर्यजहाज दुर्घटना प्रकरण : पीडित परिवारद्वारा २७५ सांसदलाई मोबाइल सन्देश पठाएर आन्दोलन

बुधबार, फागुन ७, २०८१

काठमाडौँ - दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै सौर्य जहाज दुर्घटनाका पीडित परिवारले बुधबार २७५ सांसदलाई मोबाइल सन्देश पठाएर आन्दोलन सुरु गरेका छन् । 

samridhi jewllers

दुर्घटनामा छोरी, ज्वाई र नाति गुमाएका पत्रकार प्रकाश खतिवडाले प्रधानमन्त्री, सभामुखसहित  प्रतिनिधि सभाका सबै सांसदलाई मोबाइलको ह्वाट्सपमा सन्देश पठाएर आन्दोलन सुरु गरेका हुन् । सौर्य जहाज घटना दुर्घटना नभई जघन्य अपराध भएको आरोप लगाउँदै आएका पत्रकार खतिवडाले घटनाको सम्बन्धमा सबैजसो सरकारी निकायमा उजुरी गर्दा पनि कसैले उजुरीलाई सम्बोधन नगरे पछि सांसदलाई मोबाइल सन्देश पठाएर भद्र आन्दोलन सुरु गरेको बताए । 


मोबाइल सन्देशमा सांसदहरू उदयसमशेर जवरा, मनिस झा, र सोविता गौतमले फोन गरेर तथा चन्द्र भण्डारी, माधव सापकोटा र ज्ञानेन्द्र साहीले मोबाइल म्यासेजबाटै प्रतिक्रिया दिएको खतिवडाले बताए । मोबाइल सन्देशमा प्रतिक्रिया व्यक्त गर्ने सांसदहरूले न्यायको लडाइँमा साथ दिने बचन दिएको खतिवडाको भनाइ छ ।


मोबाइल सन्देशमा उनले प्रश्न गरेका छन्– मर्मत गर्न लगिएको ३४ दिनदेखि ग्राउण्डेड बिग्रेको जहाजमा यात्रु बोक्नु जायज हो ? मर्मत गर्न लगिने जहाजमा ५ जनाभन्दा बढी बोक्न नपाउने स्पष्ट नियम कानुन छ तर १८ जना  यात्रु बोकिएको छ, गैरकानुनी उडानमा १८ जनाको अनाहकमा ज्यान जानु जायज हो ? ऊर्जा मन्त्रालयमा कार्यरत मेरी छोरी र मेरो ४ वर्षे नातिलाई समेत एयरलाइन्सको कर्मचारी बनाउनु जायज हो ? कानुनले तोके बमोजिम योग्यता नपुगेका व्यक्तिलाई राखेर सरकारले गठन  गरेको अनुसन्धान आयोगलाई जायज मान्न सकिन्छ ? आयोगले एयरलाइन्सको आर्थिक चलखेलमा दोषीलाई उम्काउन सरकारलाई बुझाएको नियोजित प्रतिवेदनलाई जायज मान्न सकिन्छ ? नेपाल नागरिक उड्यन प्राधिकरणको समेत भूमिका शंकास्पद र गैर जिम्मेवार छ, जिम्मेवार निकायको गैरजिम्मेवार व्यवहारलाई जायज मान्न सकिन्छ ? सन्देशमा उनले उठाएका प्रश्नहरूको विषयमा आवाज उठाइदिन सांसदलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १९:४४
प्रतिक्रिया दिनुहोस्