Nic Ad Nic Ad
Nic Ad Nic Ad

दिन सकिन लाग्यो, भने पछि आज पनि 'राजा आएनन्' !

बुधबार, फागुन ७, २०८१

हिजो पुर्वराजा ज्ञानेन्द्र शाहले भिडियो मन्तव्य जारी गरे । प्रजातन्त्रको दिवसको अवसरमा हरेक बर्ष उनको केहि न केहि विज्ञप्ति आइरहन्छ । त्यसकै निरन्तरता यसपटक पनि भयो । यसपालि अलिकति फरक भने अब आफुलाई सहयोग गर्नु पर्नेसम्मको आवहान मन्तव्यमा थियो ।

samridhi jewllers

नेपालमा राजतन्त्र चाहनेहरूका लागि एउटा रोचक 'मास हिस्टोरिया' छ । उनीहरूलाई ससाना कुराहरू अलिकति फरक भयो कि भन्ने लाग्ने बित्तिकै राजा आउने सपना बलियो भए झैँ लागिहाल्छ । 

जस्तै : भारतमा भारतीय जनता पार्टीको सरकार बन्छ । अब नेपालमा राजतन्त्र आयो, आयो भन्दै राजावादीहरूको खुसीको ग्राफ उकालिन्छ । उत्तरप्रदेशमा योगी मुख्यमन्त्री बन्ने बित्तिकै त्यस्तै सपना सुरू हुन्छ । अघिल्लो कार्यकालमा केपी ओलीले नारायणहिटी संग्राहालय अगाडि सडकमा कार्यक्रम गर्दा ओलीले नै राजा फर्काउन लागे भन्ने हल्लाले शहर ढाकेको थियो । 

ज्ञानेन्द्र शाहीले संसदीय निर्वाचन जित्दा होस् कि राजेन्द्र लिङदेन राप्रपाको अध्यक्ष चुनिदा होस्, राजा त अब आइहाले भन्ने स्वप्नमा राजतन्त्र रमाउने गर्छन् । यस्तो मनस्थितिमा पुर्वराजाले मलाई साथ दिनुहोला भने पछि तरंगित हुनु अस्वभाविक पनि होइन ।

माहौल यतिसम्म हुन पुग्यो कि कतिपयले सामाजिक सञ्जालमा समय तोक्ने र गणतन्त्रको अन्तिम दिन भएको उद्घोष सम्म गर्न पुगे । पुर्वराजाको मन्तव्यबाट गणतन्त्रवादी भनिनेहरू पनि तरंगित नभइरहन सकेनन् । तिनले पनि गच्छे अनुसारको प्रतिक्रिया जनाए । 

यसरी प्रजातन्त्र दिवस एउटा राजनीतिक माहौलको दिन र प्रतिक्रियाको दिन बन्न सक्यो । तर अहिले साँझ ढल्किएर रात परेको बेलासम्म धेरैलाई लागिसकेको छ कि राजा त नआउने रहेछन् । अथवा गणतन्त्रवादीहरूलाई पनि परिसकेको हुनु पर्छ, अलि बढि नै तरंगित भइएछ । म्याउलाई गर्जन सम्झिइएछ । 

यो परिपेक्षमा एकपटक राजनीतिक दृष्टिकोणले पुर्वराजा ज्ञानेन्द्रको मन्तव्य, राजावादीहरूको उमंग तथा गणतन्त्रवादीहरूको तरंगको अध्ययन रोचक नै बन्छ । 

माथि भनिसकिएको छ कि प्रजातन्त्र दिवस तथा पृथ्वी जयन्तिका अवसरमा पुर्वराजाबाट एउटा कर्मकाण्डकोरूपमा विज्ञप्ति वा मन्तव्य आउँछ । तर पुर्वराजाको मुखबाट अफ्ठ्यारो गरि फुत्किने नेपाली लवजले अपवाद बाहेक कसैलाई पनि उत्साहित गर्दैन । आँखा एकदमै कम झिम्क्याएर उनी अगाडि सिसामा लेखिएको लेख पढ्छन् । हेरिरहदा लाग्छ, राम्रो टाइपराइटरले अक्षरमात्र ध्यान दिएर टाइप गर्दा के लेखेको छ भन्ने हेक्का नराख्ने जस्तै उनले पनि पढिसक्नु मात्रै छ, त्यो लेखेको कुराको ओज न उनको शब्दमा झल्किन्छ, न व्यवहारमा । 

विज्ञप्ति आउँछ । समर्थन आउँछन् । विरोध आउँछन् । प्राप्त हुने प्रतिक्रियाले पुर्वराजाकारूपमा उनलाई आफु अहिलेको समयमा पनि सान्दर्भिक भइरहन पाएको महसुस गराउँदो हो । अर्को बर्षको विज्ञप्तिका लागि उनी तयार भएर एसी खोलेर निदाउँदा हुन् । 

राजावादीहरूको प्रतिक्रियाको बारेमा माथि लेखिसकिएकै छ । त्यो भन्दा अलग उनीहरूको विजय भनेको गणतन्त्रवादीबाट प्रतिक्रिया पाउने र महाराजको एक बोलीले गणतन्त्रको जग हल्लियो भन्ने आत्मरतिमा रमाउने मात्र हुन्छ । 

गणतन्त्रवादीहरूलाई राजावादीहरूको उमंगमा पानी फ्याल्न पाए पुग्छ । अलि बढि गर्न सके नेताहरूको कुशासन र कृत्यले राजावादीलाई शिर उठाउने ठाउँ प्राप्त भयो भनेर आलोचना सम्म हुने हो । 

यसैले हुने यत्ति नै हो । राजावादीहरूमा एकता छैन । एक पक्षमा छन् राजसंस्थावादीहरू, जसलाई अब ह्रदयेन्द्र ल्याएर खोपी सजाएर भए पनि राजसंस्था चाहिएको छ । अर्का छन् सक्रिय राजतन्त्रवादीहरु, जसलाई राजाले शासन गरेर सबै नेताहरूलाई जेलमा कोचेको हेर्नु छ । अर्का छन् ज्ञानेन्द्रवादीहरू, जसलाई पुन: ज्ञानेन्द्रलाई महाराज भनेर दशैँमा टिका लगाउनु छ । 

यति हो । गच्छे अनुसार र सोच अनुसार चाहे अनुसारका गैरगणतन्त्रवादीहरू छन् । सबैले आफुले चाहेको विकल्पका बारेमा सोच्न र शान्तिपुर्णरूपमा अभियान गर्न पाउँछन् नै । लोकतन्त्रको सुन्दरता यो पनि हो । 

बाँकी त, अब केहिबेरमा अर्कै दिन सुरू हुन्छ । बहस पुन: यस्तै उस्तै चलिरहन्छन् । मुख्य कुरा चै, आज पनि 'राजा आएनन्' !

 

 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  २१:०९
प्रतिक्रिया दिनुहोस्