रवि बिनाको संसद, तिमी बिनाको जीन्दगी...
काठमाडौं– माघ १८ गते प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु भएको दिन चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा संसदीय दलका नेता समेत रहेका रवि लामिछाने भने अदालतमा तारेख धाउनका लागि पोखरा पुगेका थिए।
सदनमा त्यस दलका उपसभापति स्वर्णिम वाग्ले पोडियममा भनिरहेका थिए,‘यो संसद कस्तो–कस्तो खल्लो लागिरहेको छ। यस सदनको चौथो दलका नेता यहाँ उपस्थित हुनुहुन्न, राज्यले प्रतिशोध साँधेर उहाँको संसद पद निलम्बन गरेको छ। अबिलम्ब फुकुवा गरोस्। हामी न्यायीक प्रक्रियामा जानेछौं।’
वाग्लेको भनाईको तात्पर्य थियो कि ‘रवि बिनाको संसदचाहिँ एउटा बियोगान्त गीत तिमी बिनाको जीन्दगी...जस्तो भयो।’ तर न स्वर्णिम वा रास्वपा रविको संसद पद नियमावली अन्तर्गत निलम्बन गरिएन भनेर अदालतचाहिँ गएको खबर छैन, अहिलेसम्म।
रवि पछिल्लो समय सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गरे पनि तारेख धाइरहेका छन्। पर्साको सानो पाइला सहकारी प्रकरणको मुद्दा अदालतमा पुगिसकेको छैन।
त्यसबाहेक पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनलाई ठगी मात्र नभई संगठित अपराध र सम्पत्ति शुद्धिकरणको समेत अभियोग छ। त्यहाँ दुवै पक्ष उच्च अदालत पोखरामा पुगिसकेका छन्।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा केही दिनअघि मात्र रविले तारेख बुझेका छन्। उनी मौन छन्, अहिले। त्यसैले रास्वपाका अन्य नेता र सांसदका लागि रवि बिनाको संसद या बैठक खल्लो खल्लो लाग्नु स्वभाविक होला।
रविको राजनीतिमा डेब्यु पनि गज्जबको थियो।
रवि लामिछानेले “सिधा कुरा जनतासँग’’ कार्यक्रमको सञ्चालन गरेर व्यापक लोकप्रियता हासिल गरे। यो कार्यक्रममार्फत उनले समाजका विविध समस्याहरू उजागर गर्दै जनताको आवाजलाई सशक्त रूपमा प्रस्तुत गरे। उनको सो कार्यक्रमले भ्रष्टाचार, अन्याय, र सामाजिक विकृतिहरू विरुद्ध संघर्षमा महत्वपूर्ण भूमिका खेलेको थियो।
२०१३ मा, लामिछानेले लगातार ६२ घण्टा टेलिभिजन टक शो सञ्चालन गरेर गिनीज वल्र्ड रेकर्ड कायम गरे, जसले उनलाई अन्तर्राष्ट्रिय स्तरमा पनि चिनायो।
रवि लामिछानेले २०२२ मा सक्रिय राजनीतिमा प्रवेश गर्ने निर्णय गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापना गरे र सोही वर्षको आम निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। उनको पार्टीले भ्रष्टाचारविरुद्धको अभियान, सुशासन, र पारदर्शितालाई मुख्य एजेन्डा बनाएको छ।
निर्वाचनपश्चात, लामिछानेलाई उपप्रधानमन्त्री तथा गृह मन्त्रीको जिम्मेवारी दिइयो। तर, नागरिकता सम्बन्धी विवादका कारण उनको मन्त्री पदमा केही समयका लागि अवरोध मात्र आएन एकै महिनामा सबैथोक गुम्यो।
उपनिर्वाचनमा पनि शानदार मत ल्याएर पुनः सदनमा छिरे र सरकारमा गुमेको उपप्रधान तथा गृहमन्त्रीको पदमा आसिन हुन पुगे। यस पटक चार महिना मन्त्रालयमा रहँदा राजनीतिक समीकरण फेरिएसँगै लामिछानेको मन्त्री पद गुम्यो र सहकारी प्रकरणमा उनी डामिए।
खैर यो पाटोतिर न्यायीक प्रक्रिया जे होला। तर, जान्नेलाई छान्ने नारा दिएको रवि र उनको पार्टीले बैकल्पिक राजनीतिक दल भनेका कारण केही टिप्पणी र सुझाव छन्। हुन त रवि लामिछाने र त्यस दलका नेता अनि उग्र कार्यकर्ताले सुझाव स्वीकार गर्न त कठिन मान्लान्। तर, कसैलाई होच्याउने हेतुले हैन नेपालीको यो उखान राख्दै केही सुझाव दिन चहान्छु। किनभने ‘अर्ती घर्ती’को पनि मान्नुपर्छ भन्छन्, बुढापाका।
वैकल्पिक राजनीतिक बाटो कस्तो हुनुपर्छ?
नेपालमा परम्परागत राजनीतिक दलहरूप्रति जनताको असन्तुष्टि बढ्दै गएको छ। भ्रष्टाचार, अयोग्यता, र नातावादको हावी हुँदा जनताले वैकल्पिक राजनीतिक बाटो खोज्न थालेका छन्। यस्तो अवस्थामा वैकल्पिक राजनीति केवल नयाँ नाम मात्र होइन, सोच, प्रणाली, र अभ्यासमा पनि भिन्न हुनुपर्छ।
- वैकल्पिक राजनीतिक दल वा अभियानले इमानदारिता र पारदर्शितालाई प्राथमिकता दिनुपर्छ। वित्तीय स्रोतहरू, नीति निर्माण प्रक्रिया, तथा निर्णयहरू स्पष्ट रूपमा जनतालाई जानकारी गराइनुपर्छ। नेताहरूले जीवनशैली, सम्पत्ति विवरण, र कार्यशैलीमा पारदर्शिता अपनाउनुपर्छ।
- नेपालको राजनीतिको ठूलो समस्या भनेको विचारधाराको नाममा जनताको वास्तविक आवश्यकतालाई बेवास्ता गर्नु हो। वैकल्पिक राजनीति व्यावहारिक समाधानमुखी हुनुपर्छ– रोजगारी सिर्जना, शिक्षा सुधार, स्वास्थ्य सेवा सुधार, तथा पूर्वाधार निर्माण जस्ता विषयमा प्राथमिकता दिनुपर्छ।
- नेपालको जनसंख्याको ठूलो हिस्सा युवाहरू हुन्। उनीहरूलाई राजनीति प्रति उत्साहित गराउने, डिजिटल प्रविधिको प्रयोग गरेर नीतिनिर्माण प्रक्रियामा सहभागी गराउने, तथा उनीहरूका नवाचारलाई प्रश्रय दिने व्यवस्था वैकल्पिक राजनीतिमा आवश्यक छ।
- वैकल्पिक राजनीतिक बाटो प्रभावकारी बनाउन, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाइनुपर्छ। सरकारी ठेक्कापट्टादेखि कर्मचारी प्रशासनसम्म पारदर्शी प्रणाली लागू गरी भ्रष्टाचार अन्त्य गर्न सकिन्छ।
- नेता केवल चुनावका बेला देखिने पात्र नभएर, निरन्तर जनतासँग संवाद गर्ने, उनीहरूको गुनासा सुन्ने, र प्रत्यक्ष जवाफदेही हुने संस्कार विकास गर्नुपर्छ। स्थानीय तहदेखि केन्द्रीय तहसम्म जनप्रतिनिधिहरू जनताको इच्छाअनुसार काम गर्नुपर्ने व्यवस्था हुनुपर्छ।
- देशको विकासका लागि राजनीति मात्र होइन, अर्थतन्त्र बलियो हुनुपर्छ। वैकल्पिक राजनीतिले उद्यमशीलता, स्थानीय उत्पादन, तथा अन्तर्राष्ट्रिय लगानीलाई सहज बनाउने नीति अवलम्बन गर्नुपर्छ।
- नेपाल विविध जाति, भाषा, धर्म, र क्षेत्रहरूको देश हो। वैकल्पिक राजनीतिले सबैलाई समान अवसर प्रदान गर्ने, सीमान्तकृत समुदायलाई उचित प्रतिनिधित्व दिने, र समानुपातिक व्यवस्थालाई प्रभावकारी बनाउने नीति अवलम्बन गर्नुपर्छ।
वैकल्पिक राजनीति केवल नयाँ नामको पार्टी खोल्नु मात्र होइन, नयाँ सोच, नयाँ प्रणाली, र प्रभावकारी कार्यशैली अवलम्बन गर्नु हो। इमानदार, पारदर्शी, र व्यवहारमुखी राजनीतिको विकास भएमा मात्रै जनताले वैकल्पिक शक्तिलाई विश्वास गर्नेछन्।
नेपालको समृद्ध भविष्यका लागि वैकल्पिक राजनीतिक मार्गले परम्परागत राजनीतिभन्दा फरक, सक्षम, र उत्तरदायी प्रणाली विकास गर्नु अनिवार्य छ।
तर यी अनेक बुँदाकेन्द्रित रास्वपा हुन सकेन। यसको अभ्यासतिर लाग्नुको साटो मुखिया नै विवादको थुप्रोमा उभिँदा आशा गर्ने ठाउँ केही धुमिल भएको जस्तो प्रतीत पक्कै पनि भएको छ।
यद्यपि रविमाथि लागेका अभियोगको न्यायीक निरुपण भएपछि सङ्लो राजनीतिको यात्रामा लाग्न सकुन्। उनी र उनको दल रास्वपामाथि विश्वास गरेका कम्तिमा पुग अपुग १२ लाख जनताको हृदय विदारक अवस्था नहोस्, बन्ने कृत्य नगरियोस्।