रास्वपाले स्ववियु चुनावमा उम्मेदवारी नदिने
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको छ । तर, उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउन आह्वान गरिने रास्वपाले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन र आंगिक क्याम्पसहरूमा ५ चैतमा स्ववियु निर्वाचन हुन लागेको छ । अन्य पार्टीका विद्यार्थी संगठन समेत भएकाले स्ववियु निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलका विद्यार्थी संगठनका नेताहरू स्ववियुको तयारीका लागि जुटिसकेका छन् ।
संसद्को चौथो दल रास्वपाले विद्यार्थी संगठन नबनाउने नीति लिएको छ । त्यसैले उम्मेदवारी नहुने रास्वपाको भनाइको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले स्ववियु निर्वाचनमा रास्वपाका तर्फबाट उम्मेदवार नहुने जानकारी गराए ।
विद्यार्थी हक हित, शैक्षिक वातावरण सुधार लगायतका काममा क्रियाशील विद्यार्थी नेताहरू स्ववियुमा विजयी हुनुपर्ने मान्यता रास्वपाको रहेको बुर्लाकोटीले बताएका छन् ।