बालेन कार्यालयमा ब्यस्त छन्, मन्त्री र सांसदलाई वडाका भवन उद्घाटन शिल्यान्यासमा भ्याई नभ्याई!
काठमाडौं– उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले केही समयअघि काठमाडौं महानगरपालिका वडा नम्बर २९ को निर्मित भवनको उद्घाटन गरेका थिए।
उक्त औपचारिक कार्यक्रममा उपप्रमुख सुनिता डङ्गोल देखिए पनि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह देखिएनन्।
‘महानगरका विभिन्न काममा सक्रिय रहेका दिन कार्यक्रम राखिएको हुन्छ। उहाँ विदाका दिनबाहेक कार्यालय समयमा प्रशासनिक काममा व्यस्त भएकाले नै औपचारिक कार्यक्रममा उपस्थित हुन कम समय हुन्छ’, बालेननिकट स्रोतले भन्यो।
फागुन ७ प्रजातन्त्र दिवसका दिन विदा परेका कारण बालेन रानीपोखरीको एउटा कार्यक्रममा झुल्किएका थिए। उनले त्यहाँ पुगेर भनेका थिए,‘कार्यालयका प्रशासनि काममा सबै लागिदिए राम्रो हुने थियो।’
त्यसको भोलीपल्ट बिहीबार (आज) वडा नम्बर ८ को भवनको शिलान्यासको कार्यक्रम राखिएको थियो। महानगरपालिकाको उक्त वडाको भवन शिलान्यासमा पनि बालेन देखिएनन्।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा प्रमुख अतिथि बनेर पुगेका थिए। शिलान्यास पनि उनैले गरेको बताइएको छ।
‘बिहीबार पनि उहाँ कार्यालयको काममा नै ब्यस्त हुनुभयो, शिलान्यास जस्तो कार्यक्रममा जाने कुरा भएन। वडाध्यक्षले नै गरे पनि हुन्छ भन्ने उहाँको विचार हो’, बालेन सचिवालयका एक जना भन्छन्,‘मेयरले गर्नुपर्ने महत्वपूर्ण काममा नै ब्यस्तता रह्यो।’
त्यसो त बालेनले फजुलका भेटघाट पनि गर्दैनन्। महानगरसँग या मेयरसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा भने कुराकानी गर्छन्। ‘फजुलको भेट भन्दा पनि कामको भेट अहिलेका लागि महत्वको विषय हो। यसकारण सामान्य विषयमा समय वर्वाद बनाउने कुरा जायज पनि होइन’, बालेन निकट स्रोतले थप्यो,‘भाईचार र भगिनी सम्बन्ध स्थापित हुने अन्य पालिकाका प्रमुख, उपप्रमुख भए त्यो पनि काम नबिग्रने समयमा भेट हुन्छ नै।’